रसुवा समाचारदाता
रसुवा, साउन १ गते । बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेँसी–रसुवागढी खण्डको करिब ९० प्रतिशत सडकको मर्मत सम्पन्न भएको छ । बाढीले प्रभावित १४ किलोमिटर सडकको अधिकांश भागमा यातायात अवरुद्ध भएपछि स्थानीय प्रशासन, सडक विभाग, विभिन्न जलविद्युत् आयोजना तथा स्थानीय तहको सहकार्यमा मर्मत तीव्रगतिमा अघि बढेको हो । गल्छी–त्रिशूली–रसुवागढी सडक सुधार आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठले तिब्बततर्फबाट बग्ने ल्हेन्देखोलामा असार २४ गते आएको बाढीले सडकमा क्षति पु-याएपछि आपत्कालीन मर्मत अभियान सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हालसम्म करिब ९० प्रतिशत काम पूरा भएको छ । लिङलिङ भिरको बाहेक अधिकांश अवरोध हटाइएको छ र बाँकी ठाउँ पनि छिट्टै खुलाउने प्रयास भइरहेको छ ।”
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव अधिकारीले मर्मत अन्तिम चरणमा पुगेको बताउनुभयो । “सडक खुलेपछि जनजीवन सामान्य अवस्थामा फर्किने आशा छ,” उहाँले भन्नुभयो, “मितेरी पुलपारि चीन क्षेत्रमा पार्किङमा राखिएका ३० वटा नेपाली कन्टेनरमध्ये २६ वटा निकालिएको छ भने बाँकी चार वटा पनि निकाल्ने प्रयास भइरहेको छ ।”
बाढीका कारण अवरुद्ध भएको विद्युत् तथा टेलिफोन सेवा व्रmमशः सञ्चालनमा आएको छ । विभिन्न ठाउँमा चँुडिएका तार जोड्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण धुन्चेले जानकारी दिएको छ ।