गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १ गते । चलचित्र ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको गीतमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मालाई भिडियोमा देख्न सकिन्छ ।
बाबुल गिरीको सङ्गीत तथा स्वर रहेको गीतको शब्दरचना गोविन्द भट्टको रहेको छ । यस गीतबाट गिरीले नेपाली चलचित्र क्षेत्रमा प्रवेश पनि गर्नुभएको छ । चलचित्रको टिजरमा देखाइएको सानो भाग सामाजिक सञ्जालमा धेरै रुचाइएपछि निर्माण पक्षले पूरा गीत सार्वजनिक गरेको हो । निर्देशक राजबहादुर सानले चलचित्रमार्फत परापूर्वकालदेखि नेपाली समाजमा देखिएको कुसंस्कारलाई देखाउने प्रयास गरिएको बताउनुभयो । उहाँले सामाजिक विषयवस्तुलाई चलचित्रले उठाएको बताउनुभयो । तुलसीदेवी फिल्म प्रालिले जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको कथा रहेको छ । सिमोस सुनुवारको प्रस्तुति रहेको चलचित्रमा भूगोलकुमार कार्की, विकासराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता रहनुभएको छ । चलचित्र साउन २३ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।