गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १ गते । चलचित्र ‘गुन्यु चोलो : दी ड्रेस’ को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत बुधबार एक कार्यक्रमबिच काठमाडौँमा सार्वजनिक गरियो । लेखु सहयात्रीको शब्दरचना रहेको गीतमा मनीषा पोखरेलको स्वर छ । गीतमा लेखु सहयात्रीकै सङ्गीत रहेको छ ।
गीतले आफूभित्रै प्रेमिल मन रहने र माया गर्ने चाहना हुने कुरालाई देखाएको छ । गीतको भिडियोमा नाजिर हुसेनको नृत्य छ । चलचित्र लैङ्गिक अल्पसङ्ख्यक पारालैङ्गिक पात्रको कथामा बनेको छ । चलचित्रमा नाजिरले पारालैङ्गिक महिलाको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि अभिनय रहेको छ ।