• १ साउन २०८२, बिहिबार

राष्ट्रिय तथा प्रादेशिक पुरस्कार प्रदान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ सालको राष्ट्रिय तथा प्रादेशिकसहितका विभिन्न पुरस्कार प्रदान गरेको छ । मन्त्रालयद्वारा काठमाडौँस्थित राष्ट्रिय नाचघरमा बुधबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कार प्रदान गर्दै प्रतीकात्मक हिसाबले कार्यक्रम महत्वपूर्ण भएको बताउँदै भन्नुभयो, “२०५१/५२ सालपछि प्रारम्भ भएको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार गर्न निकै ठुलो मेहनत पर्छ । सर्जकले जसरी आफ्ना सिर्जना विभिन्न विधामा जनमानसमा ल्याउनुहुन्छ, त्यही सिर्जनाका कारण उहाँहरूले जनमानसको मन जित्न सफल हुनुभएको छ ।”  

नेपाली सम्पदा, मूर्ति र अभिलेखप्रति विदेशीमा चासो बढ्दै गएको बताउँदै मन्त्री पाण्डेले विश्वका विभिन्न भागमा छरिएर रहेका समुदायले नेपालको संस्कृतिप्रति विशेष ध्यान दिइरहेको पनि उल्लेख गर्नुभयो । अहिले विश्वभर नेपालप्रति चासो बढेको छ । जातीय, सांस्कृतिक र भाषिक विविधता अध्ययन, अनुसन्धान र चिन्तनको विषय बनेको छ, उहाँले भन्नुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले वरिष्ठ व्यक्तित्वलाई पुरस्कार प्रदान गरेर पुरस्कारको गरिमा बढेको बताउनुभयो । उहाँले नेपाली भाषा, साहित्य, संस्कृतिमा महत्वपूर्ण योगदान पु¥याउनुभएका महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्य, गोपालप्रसाद रिमाल, भगत सर्वजित मानव मर्यादा, युगकवि सिद्धिचरण श्रेष्ठ, शिरोमणि बाबुराम आचार्य, शताब्दीपुरुष सत्यमोहन जोशीका नामबाट स्थापित पुरस्कारले ठुलो महत्व राख्ने बताउनुभयो । 

कार्यक्रममा भाषा एवं साहित्यतर्फ अमृत योन्जन तामाङ, संस्कृतितर्फ डा. सोमबहादुर धिमाल, सङ्गीत नाट्यतर्फ राजेन्द्रबहादुर शाह र ललितकलातर्फ मुकेश मल्ललाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरियो ।  

संस्कृतितर्फ प्रादेशिक प्रतिभा पुरस्कार कमलजङ्ग राई, शीतल गिरी, तारादेवी सुनुवार, भक्तिप्रसाद शर्मा, इद्रिस खाँ (इद्रिस सायल), मोतीराज बम र देवेन्द्रप्रसाद भट्टलाई प्रदान गरिएको थियो । सङ्गीत तथा नाट्यतर्फ प्रादेशिक प्रतिभा पुरस्कार विपिन पौडेल ‘किरण’, शिवशङ्कर रिजाल (जोगेन्द्र पानवाला), सुदेशराज शर्मा, दिया मास्के, उदिराम खड्का, तिलक परियार र प्रकाशबहादुर थापालाई प्रदान गरियो । त्यस्तै ललितकलातर्फ प्रादेशिक प्रतिभा पुरस्कार हिम्मतबहादुर लिम्बू नेम्वाङ, (मूर्तिकला), गीताकुमारी ठाकुर, (लोककला मिथिला), प्रमिला वज्राचार्य (चित्रकला), शशिध्वज तुलाचन (परम्परागत थाङ्का), हरिराम अधिकारी (मूर्तिकला), थेक्क्षोक तामाङ (चित्रकला, हस्तकला) र मित्थु चौधरी (चित्रकला, मूर्तिकला) लाई प्रदान गरियो ।

साहित्य विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कार विमला तुम्खेवा, श्याम साह (श्यामसुन्दर साह), नर्मदेश्वरी सत्याल, मीनराज वसन्त (रेग्मी), भगवानदास यादव, समीर शाह (सल्यानी माइला) र नरेन्द्रप्रसाद भट्टलाई प्रदान गरियो ।

कार्यक्रममा महाकवि देवकोटा राष्ट्रिय पुरस्कारबाट कवि तीर्थ श्रेष्ठ, निबन्धकार लक्ष्मण गौतम, आख्यानकार नारायण ढकाल, बालसाहित्यकार कल्पना प्रधान र भाषासेवी रेशम घिमिरे ‘विरही’ पुरस्कृत हुनुभयो । आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार प्राडा रामप्रसाद ज्ञवालीलाई पुरस्कृत गरियो । गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट कवि भरतबहादुर भण्डारी (सोझो गाउँले) र नाट्यकर्मी किरण राई (किरण चाम्लिङ राई) पुरस्कृत हुनुभयो ।

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार मानबहादुर विश्वकर्मा, भीमकान्त (भागवत) पन्थी र ‘दलन’ टेलिशृङ्खला टिमलाई प्रदान गरिएको थियो । युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार प्राडा देवीप्रसाद नेपाललाई प्रदान गरियो । इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार संयुक्त अधिराज्य (बेलायत) निवासी संस्कृतिकर्मी डा. जोन ह्वेल्पटनलाई प्रदान गरियो ।

त्यस्तै शताब्दीपुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार प्राडा वीणा पौड्याल र योगमाया राष्ट्रिय पुरस्कार उपन्यासकार डा. नीलम कार्की ‘निहारिका’ लाई प्रदान गरियो । पुरस्कृत सबैलाई नगद राशि र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा मन्त्रालयको संस्कृति महाशाखा प्रमुख डा. सुरेशसुरस श्रेष्ठ, विमला तुम्खेवा, नर्मदेश्वरी सत्याल, राजेन्द्रबहादुर शाह र जोन ह्वेल्पटनले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।