रमेश विश्वकर्मा
गुल्मी, साउन १ गते । गुल्मी जिल्ला अदालतमा वर्षेनि मुद्दाको चाप बढ्दै गएको पाइएको छ । गुल्मी जिल्ला अदालतको पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार प्रत्येक वर्ष मुद्दा बढ्दै गएको पाइएको हो । आर्थिक वर्ष २०७७–०७८ देखि आर्थिक वर्ष २०८१–०८२ सम्म यस अदालतमा विभिन्न किसिमका तीन हजार ४१० मुद्दा रहेका थिए ।
आर्थिक वर्ष २०७७–०७८ मा ५६० मुद्दा रहेकोमा गुल्मी जिल्ला अदालतको तथ्याङ्क अनुसार प्रत्येक वर्ष मुद्दाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । त्यस वर्षका मुद्दामध्ये ३७१ फर्छ्यौट भएका र १८९ मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको थियो । जसमा ६६ दशमलव २५ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ । आर्थिक वर्ष २०७८–०७९ मा जिम्मेवारी सरी आएको मुद्दासहित कुल ६९९ मुद्दा रहेका थिए । जसमध्ये ५१० मुद्दा फर्छ्यौट गरिएको थियो । १८९ मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको थियो । जसमा ७२ दशमलव ९६ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ ।
आर्थिक वर्ष २०७९–०८० मा जिम्मेवारी सरी आएको मुद्दासहित कुल ७१२ मुद्दा रहेको थियो । जसमध्ये ५७६ मुद्दा फर्छ्यौट भएका थियो । १३६ मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको थियो । जसमा ८० दशमलव ८९ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ । आर्थिक वर्ष २०८०–०८१ मा जिम्मेवार सरी आएको मुद्दासहित ६७४ मुद्दा रहेको थियो । जसमध्ये ४८० मुद्दा फर्छ्यौट र १९४ मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको थियो । जसमा ७१ दशमलव २१ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ ।
आर्थिक वर्ष २०८१–०८२ मा जिम्मेवारी सरी आएको र नयाँ गरी कुल ७६५ मुद्दा रहेको थियो । जसमध्ये ५५५ मुद्दा पर्छ्यौट र २१० मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ । जसमा ७२ दशमलव ५५ प्रतिशत मुद्दा फर्छ्यौट भएको गुल्मी जिल्ला अदालतको तथ्याङ्कमा उल्लेख छ । विशेषगरी गुल्मी जिल्ला अदालतबाट प्रत्येक वर्ष लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरिएको श्रेस्तेदार सुदर्शन खनालले बताउनुभयो । यस आर्थिक वर्षका लागि १९४ मुद्दा जिम्मेवारी सरी आएका थिए ।
गुल्मी जिल्ला अदालतबाट यस वर्ष अनुमानित लक्ष्य ५३९ मुद्दा फर्छ्यौट गर्ने रहेकोमा ५५५ थान मुद्दा फर्छ्यौट भएको हुँदा लक्ष्यको १०३ प्रतिशत प्रगति भएको पाइएको छ । गतवर्षबाट जिम्मेवारी सरेका मुद्दामध्ये १७३ थान मुद्दा पर्छ्यौट भएका र २१ थान मुद्दा बाँकी रहेको छ । १८ महिनादेखि दुई वर्षसम्मका पुरानो मुद्दा एक थान रहेको छ । ८६ थान फौजदारी मुद्दामध्ये ४५ थान फछ्र्यौट र ४१ थान बाँकी छ । ६४९ थान दुनियाँवादी देवानी मुद्दामध्ये ४९३ थान फर्छ्यौट र १५६ थान बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै, पुनरावेदनतर्फ दुई थान मुद्दामध्ये एक थान फर्छ्यौट र एक थान बाँकी छ । रीट निवेदनतर्फ दुई थान रहेकोमा दुई वटै निवेदन फर्छ्यौट भएका छन् । यस वर्ष सम्बन्ध विच्छेदका ४५३ थान मुद्दा दर्ता रहेकोमा ३७८ थानको फैसला भएको छ । जसमा पुरुष वादी भई दर्ता भएका ७१ थान मुद्दामध्ये ४७ थान मुद्दा फैसला भएका छन् । महिला वादी भई दर्ता भएका ३८२ थान मुद्दामध्ये ३८१ थान मुद्दा फैसला भएको पइएको छ । जबरजस्ती करणीका ३२ मुद्दा रहेकोमा आठ थान मुद्दा फैसला र २४ थान मुद्दा फैसला हुन बाँकी रहेको उहाँले जनकारी दिनुभयो ।
गुल्मी जिल्ला अदालतमा विशेष प्रकृतिका निवेदनहरु पनि दर्ता हुने गरेको तथ्याङ्क पाइएको छ । यस वर्ष अधिकृत वारेसनामा प्रमाणित आठ, मृत्यको न्यायिक घोषणा ४२, दर्ताद्वारा विवाह १०, धर्मपुत्र/धर्मपुत्री राख्ने अनुमती दुई निवेदन परेका थिए । निवेदनहरुमध्ये मृत्युको न्यायिक घोषणा नौ र धर्मपुत्र/धर्मपुत्री राख्ने अनुमती एक निवेदन फर्छ्यौट हुन बाँकी रहेको गुल्मी जिल्ला अदालतले जनाएको छ ।