• १० माघ २०८१, बिहिबार

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ५०० नाघ्यो

blog

नयाँदिल्ली, असार ३ गते । भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना सङ्क्रमित भएका छन् । बिहीबार मध्यराति अर्थात् गत २४ घण्टामा भएको कोरोना सङ्क्रमित यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । भारतमा बुधबार र बिहीबार दुईदिन लगातार कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

यस वर्षको फेब्रुअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए । गत बिहीबार भारतमा बाह्र हजार २१३ कोरोना सङ्क्रमित भएका थिए । भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३२ लाख ७० हजार ५७७ पुगेको छ ।

यसमध्ये ६३ हजार ६३ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१५ प्रतिशत हो । पछिल्लो एक दिनमा सात हजार ९८५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्  । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ८२ हजार ६९७ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६४ प्रतिशत छ ।

कोरोना महामारीबाट  बिहीबार भारतमा १४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८१७ को मृत्यु भएको समाचारमा जनाइएको छ ।भारतमा  सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९५ करोड ८४ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।