• २३ जेठ २०८२, शुक्रबार

नवीकरणीय ऊर्जामा उरुग्वेको साथ आवश्यक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २१ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सौर्य र वायु ऊर्जा प्रवर्धन गर्न उरुग्वेको सहयोगको अपेक्षा गर्नुभएको छ । मन्त्री खड्कासँग नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत अल्बर्टो ए गुआनीले गरेको शिष्टाचार भेटमा उहाँले यस्तो अपेक्षा राख्नुभएको हो । 

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले वायु र सौर्य ऊर्जामा उरुग्वेको सफलताको कदर गर्दै नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा प्राविधिक सहयोग र लगानीका सम्भावना पहिचान गर्न आग्रह गर्नुभयो । 

भेटमा ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न दातृ निकायको साथ र सहयोग आवश्यक रहेको धारणा राख्नुभयो । भेटमा नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत गुआनीले उरुग्वेले वायु ऊर्जा र नवीकरणीय ऊर्जामा राम्रो अनुभव हासिल गरेको भन्दै उक्त अनुभवसहित प्रविधि हस्तान्तरण आदानप्रदान गर्न सकिने बताउनुभयो । 

उहाँले जलस्रोत व्यवस्थापनको क्षेत्रमा नेपालको सिप, अनुभव र दक्षता उरुग्वेलाई काम लाग्ने भएकाले अनुभव आदानप्रदान गर्न सकिने औँल्याउनुभयो ।