गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २० गते । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत १४ अर्ब ८२ करोड रुपियाँभन्दा बढी भुक्तानी गरेको छ ।
योगदानमा आधारित सुरक्षा योजना लागु गरेको साढे छ वर्षको अवधिमा ८१ अर्ब १९ करोड सङ्कलन गरेको कोषले विभिन्न चार वटा योजनाका लागि कोषमा सङ्कलित रकमको १५ प्रतिशत भुक्तानी गरेको हो । यो २०७६ साउनदेखि २०८२ जेठ १६ सम्म सो बराबरको रकम दाबी भुक्तानी गरेको कोषले जनाएको छ ।
सामाजिक सुरक्षा कोषका अनुसार सुरक्षा योजना अन्तर्गतका विभिन्न श्रमिक तथा उनीहरूका परिवारलाई दिएको भुक्तानीमा १४ अर्ब ८२ करोड रुपियाँ खर्च भएको छ । कोषले विभिन्न चार योजनामा यस्तो भुक्तानी दिने गरेको छ ।
कोषका निर्देशक प्रवक्ता कृष्ण अधिकारीले कोषमा सङ्कलन भएको रकमबाट माग दाबी अनुसार योगदानकर्ताको योगदानका आधारमा रकम भुक्तानी भएको बताउनुभयो ।
जसमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत एक लाख तीन हजार ८०६ जनाले एक अर्ब ९७ करोड ६३ लाख ८६ हजार ४९० रुपियाँ भुक्तानी लिएका छन् । दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत पाँच हजार ५५२ जनाले १९ करोड ३३ लाख १७ हजार ९४८ रुपियाँ भुक्तानी लिएका छन् । आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ७१७ जनाले २४ करोड १२ लाख, ७५ हजार ८७४ रुपियाँ रकम भुक्तानी लिएका छन् । त्यसै गरी वृद्धवस्था सुरक्षा योजना अन्तर्गत एक लाख आठ हजार ६३८ जनालाई १२ अर्ब ४१ करोड ८८ लाख ७९ हजार ७०५ रुपियाँ भुक्तानी गरेको कोषले जनाएको छ ।