• १० जेठ २०८२, शनिबार

नीति निर्माणमा साझा प्रतिबद्धता

blog

डडेल्धुरा, जेठ ९ गते । सुदूरपश्चिमका दश स्थानीय तहका जनप्रतिनिधिले नीति तथा योजना निर्माणमा साझा प्रतिबद्धता जनाएका छन् । युरोपियन युनियन र संयुक्त राष्ट्र संघको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा कञ्चनपुर, कैलाली, डोटी, बाजुरा र बझाङका पालिका प्रमुख, उपप्रमुखलगायत सहभागी कर्मचारीले पहुँचबाट बञ्चित समुदायका आवाजलाई स्थानीय नीति तथा बजेटमा समावेश गर्न बहस गर्नुभएको थियो । 

निड्स नेपालका कार्यक्रम व्यवस्थापक मीन शाहिका अनुसार, स्थानीय स्तरमा सहभागितामूलक योजना निर्माणको अभ्यासलाई संस्थागत गर्दै सुशासन र नागरिक उत्तरदायित्व सुदृढ बनाउने बताउनुभयो । डोटीको दिपायल-सिलगढी नगरपालिकाका सामाजिक विकास शाखाका कर्मचारी रामचन्द्र जोशीले योजनामा नागरिकको सक्रिय सहभागिताले वास्तविक आवश्यकताको पहिचान र सम्बोधनमा टेवा पुग्ने बताउनुभयो । 

यस्तै, कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख शारदादेवी रोकायाले यो अभ्यासले नीतिलाई थप जनमुखी बनाउने प्रेरणा दिएको सुनाउनुभयो । नीति निर्माण प्रक्रियामा पारदर्शिता, समावेशिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै स्थानीय तहमा रहेको योजना निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता कार्यक्रमका सहभागिहरुले जनाएका छन् ।