सिराज खान
नेपालगन्ज, जेठ ९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले मालपोत कार्यालय कोहलपुरमा कार्यरत एक कर्मचारीलाई २० हजार रुपियाँ घुससहित पक्राउ गरेको छ ।
मालपोत कार्यालय कोहलपुरमा कार्यरत हरिप्रसाद पाण्डेलाई बिचौलियासँग लेनदेन गरिरहेको अवस्थामा छापा मारेर २० हजार रुपियाँ घुस रकमसहित शुक्रबार अपरान्ह नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी झलक केसीले बताउनुभयो ।
उहाँले बिचौलियासँग कोहलपुरको तिवारी रेष्टुरेण्टमा लेनदेन भइरहेको सूचनाका आधारमा अख्तियारको टोलीले पाण्डेलाई २० हजार रुपियाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको जानकारी आए पनि अझै अनुसन्धान र कागजी प्रक्रिया पुरा गर्ने कार्य भइरहेकोले पूर्ण विवरण आउन बाँकी रहेको बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख उपसचिव गणेशबहादुर अधिकारीले पनि कोहलपुरमा छापा मारेर एकजना कर्मचारीलाई नियन्त्रणमा लिईएको पुष्टी गर्दै पूरा विवरण आउन बाँकी रहेको बताउनुभयो ।
अख्तियार अनुसन्धान आयोगका अनुसार नमिलेको कागजात मिलाईदिने भन्दै लेनदेन गरिरहेको बेला नगद २० हजार सहित पाण्डेलाई अख्तियारको टोलीले रङ्गेहात नियन्त्रणमा लिएको थियो ।