• ९ जेठ २०८२, शुक्रबार

बेनी कालिगण्डकी जलविद्युत आयोजना अघि बढाइदै

blog

बेनी कालिगण्डकी जलविद्युत आयोजनाको बाँध निर्माण स्थल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ९ गते ।
म्याग्दी र पर्वतको जलजलामा निर्माण हुने साढे ५० मेगावाट क्षमताको बेनी कालिगण्डकी जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । जलजलामा जलविद्युत आयोजना निर्माण हुने भएपछि यहाँका स्थानीयहरु उत्साहित भएका छन् ।

आयोजनाको गलेश्वर मन्दिर भन्दा १.२ किलोमिटर तल बेनी नगरपालिका वडा नं ६ ठुलाखोला र जलजला गाउँपालिका वडा २ को सिमानामा बाँध बनाई तीन हजार पाँचसय ३७ मिटर लामो सुरुङबाट कालिगण्डकीको पानी लगेर जलजला ४ मा पर्ने शेराफाँटमा निर्माण हुने विद्युतगृहमा  खसालेर विद्युत् निकाल्ने गरी विद्युत विकास विभागले आयोजनाको प्रस्ताव गरेको छ । 

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत विकास विभागले आयोजना निर्माणका लागि निजी क्षेत्रका नेपाली जलविद्युत् कम्पनीहरु वा संयुक्त लगानीकर्ताहरुसँग परियोजनाको विकासका लागि अभिरुचि पत्र (ईओआई) माग गरेको छ । विभागले बुट मोडेल अन्तर्गत परियोजनामा लगानी गर्न आह्वान गरेको हो ।

विद्युत विकास विभागले गत बैशाख २७ गते गोरखापत्र राष्ट्रिय दैनिकमा ३० दिने सार्वजनिक सूचना प्रकाशित गरी बेनी कालिगण्डकी जलविद्युत आयोजनामा लगानीका लागि प्रस्ताव आह्वान गरेको हो । आयोजनाका बारेमा सम्पूर्ण पक्षको अध्ययन गरी बुट मोडेलमा निर्माण हुने आयोजनाका लागि अभिरुचि पत्र (ईओआई) माग गरिएको विद्युत विकास विभागका सूचना अधिकारी बद्री कुइकेलले जानकारी दिनुभयो । 

लगानी गर्न चाहने निजी कम्पनी, वित्तीय संस्था र निर्माण व्यवसायीहरुका लागि आयोजना लगानीको अवसर भएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) सचिवालयका प्रमुख कार्यकारी भिम गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो आयोजना स्थानीयवासीहरुका लागि पनि लगानीको अवसर हो । आयोजना निर्माण हुँदा प्रत्यक्ष रुपमा स्थानीयस्तरमा लगानीको अवसर सिर्जना,रोजगारी सिर्जना र आर्थिक क्षेत्रलाई चलायमान गराउन सहयोग पुर्‍याउँछ ।’’ 

बुट मोडेलअन्तर्गत आयोजना स्वामित्व, सञ्चालन र मुनाफा सुनिश्चित हुने भएकाले दीर्घकालीन लगानीकर्ताहरूका लागि यो आयोजना आकर्षक हुने उहाँको भनाइ छ ।

यता म्याग्दीका राजनीतिक दल र बेनी बजारवासीहरुले बेनी भएर बग्ने कालिगण्डकी नदीमा निर्माण हुने जलविद्युत आयोजनाले बेनीको धार्मिक तथा सास्कृतिक पक्ष, जनजीवन र सभ्यतालाई सङ्कटमा पार्ने भएकाले कुनैपनि हालतमा आयोजना अघि बढाउन नहुने बताउँदै आएका छन् ।

कालिगण्डकी नदीलाई सुकाएर जलविद्युत आयोजना निर्माण गर्दा नदी किनारमा रहेको मसानघाटमा मृतकको अन्त्येष्टि, तर्पण, श्राद्धजस्ता धार्मिक कर्महरु प्रभावित हुनेभकएकाले आयोजना निर्माणलाई अघि नबढाउन राजनीतिक दलका नेताहरुले अनुरोध गरेका छन् । नदीमा पानी नै सुकेपछि कालिगण्डकी नदीको महिमा र महोत्व नै हराएर जाने बजारवासीहरुको चिन्ता छ । 

आयोजना निर्माणलाई रोक्न अनुरोध गर्दै बेनी नगरपालिका र जिल्ला समन्वय समिति म्याग्दीले संयुक्त रुपमा पनि सरकारलाई ध्यानकर्षण गराउँदै आएका छन् । यता पर्वतको जलजला गाउँपालिकाका स्थानीयवासीहरुले भने आयोजना निर्माणलाई अवरोध गर्न नहुने तर्क राख्दै आएका छन् । नदीमा ३० प्रतिशत पानी छाडेर आयोजना बनाउदा बेनीवासीले अवरोध गर्न नहुने जलजलवासीको भनाइ छ ।