• २९ वैशाख २०८२, सोमबार

राजदेवी मन्दिरमा भक्तजनको घुइँचो

blog

लहान–१५ मा रहेको धार्मिक पर्यटकीय स्थल राजदेवी मन्दिरमा भक्तजनहरु बिहानैदेखि पूजापाठमा। तस्बिरः जीवछ यादव

जीवछ यादव 

लहान, वैशाख २९ गते । लहानको मुख्य चोकदेखि दस किलोमिटर उत्तरमा लहान–१५ मा रहेको राजदेवी मन्दिरमा यस वर्ष पन्ध्र हजारभन्दा बलिप्रदान हुने अनुमान गरिएको छ । कति बलि प्रदान गरिएको यकिन बेलुकी मात्रै गर्न सकिने पूजा समितिले जनाएको हो । 

गत वर्ष सत्र हजार बलि प्रदान भएको थियो । मधेश प्रदेशमा गढीमाईपछि सबैभन्दा बढी बलि प्रदान गरिने शक्तिपीठको रूपमा राजदेवी पञ्चावती रहेको छ । 

वर्षैभरी आउने धार्मिक पर्यटकहरूले चढाएको दान भेटीको रकम वर्षमा चालिस लाखभन्दा बढी सङ्कलन हुन थालेको मन्दिर विकास समितिका सचिव विरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष वैशाख चण्डी पूर्णिमाको दिन लाग्ने ठुलो मेला लाग्ने गर्दछ । भक्तजनहरूले चढाउने रकमको ६० प्रतिशत मन्दिरको विकासमा र ४० प्रतिशत सामजिक कार्यमा लगाउने गरेका छौं । गत वर्ष मेलाको दिन भक्तजनहरूले चढाएको भेटी ४५ लाख भएको थियो । 

यस वर्ष भारत पाकिस्तानको बिचमा भएको युद्धको कारण भारतीय भक्तजनहरूको सङ्ख्या घटेको छ । २०५४ सालदेखिको तथ्याङ्क हेर्दा प्रत्येकवर्ष तीन हजारको हाराहारीमा बढी बलि प्रदान हुँदै आइरहेको लहान–१५ का वडाध्यक्ष तेजनारायण चौधरीले बताउनुभयो । 

चुरेको फेदमा रहेको राजदेवी मन्दिरको वरिपरि सात बिघा जग्गा मन्दिरको नाउँमा रहेको छ भने यस अर्को वर्षदेखि प्रयोगमा आउने राजदेवी दह निर्माको कार्य र सौन्दर्यीकरण भइरहेको छ । मन्दिरको धर्मशाला निर्माणका लागि सिराहा–३ का सङघीय सांसद तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठको पहलमा दस लाख,वर्तमान प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले विकास कोषबाट २५ लाख र पूर्व प्रदेशसभा सदस्य लगनलाल चौधरीले १२ लाख सहयोग गरेपछि पाँच सय जना अटाउने सभा हल र आठ कोठाको धर्मशाला समेत निर्माण भइसकेको छ । 

सहरी सघन विकास अन्तर्गत आएको बजेटबाट मन्दिरसम्म यसवर्ष पिच सडक निर्माण सम्पन्न भैसकेको छ भने केहि खुटी खोलामा पुल निर्माण भएपछि हवातै धार्मिक पर्यटकहरूको सङ्ख्या बढ्दै जान थालेको छ । 

सुख शान्ति र सन्तान प्राप्तिका लागि भाकल गरेपछि पूरा हुने गरेकोले प्रत्येकवर्ष धार्मिक पर्यटकहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ ।  राजदेवी मन्दिरमा आउने धार्मिक पर्यटकीयहरूको सेवा सुविधाको लागि चौतर्फी सहयोग भइरहेको वडाध्यक्ष चौधरीले  बताउनुभयो । उहाँले भन्नुभयो, ‘लहान –१५ मा थारु सामुदायिक होमस्टे समेत सञ्चालनमा ल्याएर धार्मिक पर्यटकहरूलालाई सहज हुने वातावरण बनाउन लागेका छौं ।’

लहान नगरपालिकामा रहेको सलहेस फूलबारी पकडियागढ, मानिकदह,ब्रम्हानस्थान देवी दह र हात्रीदह धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि लहान नगरपालिकाले डिपिआर तयार गरेर सङ्घीय र प्रदेश सरकारबाट सहयोगका लागि निरन्तर पहल गरिरहेको लहान नगर प्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । ‘राजदेवी मन्दिरलाई विकास गर्न जसरी स्थानीयहरू निरन्तर मेहनेत गरीरहे त्यसरी सलहेस फूलवारी पकडियागढ र मानिकदहमा स्थानीयहरूको सक्रियता देखिएन । 

अब नगरपालिका स्वयम यी क्षेत्रहरूको विकासका लागि पहलकदमी लिने छ’, नगर प्रमुख चौधरीले भन्नुभयो ।