• २९ वैशाख २०८२, सोमबार

कर्णाली छोरी सम्मेलन सुरु

blog

सामाजिक विकास मन्त्रालय र श्रीज्योति फाउन्डेसनद्वारा आयोजित कर्णाली छोरी सम्मेलनको उद्घाटन सत्रमा मुख्यमन्त्रीसहितका अन्य अतिथि । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता

सुर्खेत, वैशाख २८ गते । छोरीलाई आफ्नो अधिकारमा सचेत, सबल, सक्षम तथा आत्मनिर्भर बनाउन शनिबारदेखि सुर्खेतमा कर्णाली छोरी सम्मेलन सुरु भएको छ । सामाजिक विकास मन्त्रालय र श्री ज्योति फाउन्डेसनको आयोजनामा सोमबारसम्म सञ्चालन हुने छोरी सम्मेलनले कर्णालीका छोरीको चेतना जागृत गर्ने र स्वप्निल बन्न सिकाउने सामाजिक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । 

सम्मेलनको उद्घाटन गर्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली छोरी सम्मेलनले छोरीप्रतिको दृष्टिकोणमा सुधार आउने बताउनुभयो । उहाँले छोरीका कुरा सुन्न, उनीहरूका समस्या बुझ्न र उनीहरूको हितका लागि चालिने उपायबारे सम्मेलनमा सार्थक निष्कर्ष निस्कने उल्लेख गर्नुभयो । कर्णालीका सबै छोरीको कुरा सुनेपछि प्रदेश सरकारले छोरीका लागि ल्याउने योजना र आवश्यक पर्ने बजेटलगायतका बारेमा ध्यानाकर्षण हुने मुख्यमन्त्री कँडेलले बताउनुभयो । 

उहाँले आयोजकलाई नाम मात्रको सम्मेलन नगर्न सुझावसमेत दिनुभयो । यसै गरी कुनै एक/दुई जना व्यक्ति र दलले गरेको गल्तीका कारण समग्र व्यवस्थामाथि औँला ठड्याउन नहुने भन्दै उहाँले सम्मेलनले लोकतन्त्रको पक्षमा पनि छोरीहरूले आवाज उठाउने आफूले विश्वास गरेको बताउनुभयो । 

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीका छोरीको समस्याबारे बुझ्न, आगामी नीति तथा कार्यक्रममा त्यसको समाधानबारे योजना बनाउन छोरी सम्मेलनमा सहभागिता जनाएको बताउनुभयो । कर्णालीका छोरी कम छैनन् भनेर छोरीले गरेको सफलताका बारेमा पनि जानकारी गराउन सम्मेलनले सहयोग पुर्‍याउने उहाँको भनाइ छ । 

श्रीज्योति फाउन्डेसनका अध्यक्ष ज्योति कटवालले कर्णालीका छोरी आफैँमा कमजोर नभई अधिकार र अवसरबाट वञ्चित भएको कारणबाट नै कमजोर देखिएका हुन् भन्ने वास्तविकता बोध गर्नु र गराउनु पनि यस सम्मेलनको मूल उद्देश्य रहेको बताउनुभयो । कर्णालीका छोरीलाई आफ्नो हक र अधिकार बोध गराउने र तिनीहरूको जीवन रूपान्तरणको माध्यमबाट कर्णालीको उज्ज्वल भविष्यको चित्र कोर्ने अभिप्रायले सम्मेलनको आयोजना गरिएको उहाँको भनाइ छ । सम्मेलनमा कर्णाली प्रदेशका सम्पूर्ण ७९ वटा स्थानीय तहबाट दुई÷दुई जना प्रतिनिधि तथा सीमान्तकृत र लोपोन्मुख राउटे, राजी, बादी र बोटे समुदायबाट थप दुई÷दुई जना गरी करिब दुई सय जना छोरीको सहभागिता रहने जानकारी उहाँले दिनुभयो । 

सम्मेलनमा ‘राजनीतिमा कर्णालीका छोरी’, ‘शिक्षित छोरी किन जरूरी ?’, ‘स्वस्थ छोरी, स्वस्थ कर्णाली, कर्णालीका सारथि’, ‘कानुनी सेवामा कर्णालीका छोरी’, ‘कर्णालीका खेलाडी छोरी’, ‘महिनावारीका सकस’, ‘आमाका कुरा’, 

‘हामी सक्छौँ’ तथा ‘कर्णालीका कोइली, कर्णालीका न्याउली’ शीर्षकमा बहस हुने जनाइएको छ ।