• २९ वैशाख २०८२, सोमबार

साठी वर्ष माथिकालाई सार्वजनिक काममा रोक

blog

लिमीमा ज्येष्ठ नागरिक । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, वैशाख २८ गते । उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँमा ६० वर्ष उमेर काटेका स्थानीयलाई सार्वजनिक काममा संलग्न हुनबाट रोक लगाएको छ । 

लिमीका तीन गाउँको आफ्नै स्थानीय निर्णय अनुसार यस्तो नियम लागु गरिएको हो । तीन वटा कारण देखाउँदै ६० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई गाउँमा हुने सार्वजनिक काममा सहभागी नगराउने स्थानीयवासीको निर्णय कार्यान्वयन गरिएको लिमी जाङ गाउँका कुन्चोक तामाङले बताउनुभयो । उहाँले सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्तामा साबिक कर्णालीका नागरिकले ६० वर्ष कटेपछि सो भत्ता पाएको भन्दै सरकारले नै उचित सम्मान गरिसकेका कारण यस्ता काममा नलगाउने गरिएको बताउनुभयो । घरको जिम्मेवारी हस्तान्तरणका लागि पनि यस्ता काममा नलगाउनु उपयुक्त देखिएको गाउँवासीको निर्णय कार्यान्वयन गरिएको उहाँको भनाइ छ । 

त्यसै गरी ६० वर्ष माथिका ज्येष्ठ नागरिक अन्य उमेर समूहभन्दा काम गर्न पनि नसक्ने भएका कारण यस्तो गरिएको उहाँले बताउनुभयो । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले ज्येष्ठ नागरिकको सम्मानका लागि पनि गाउँमा हुने कुनै पनि सार्वजनिक काममा संलग्न नगराउने गरिएको बताउँदै यो नियम स्थानीयस्तरमा कार्यान्वयन पनि गरिएको जनाउनुभयो । 

तर गाउँमा हुने चाडपर्व, सभा समारोहमा भने ज्येष्ठ नागरिकलाई मान, सम्मान र सहभागिता गराउन भने यो नियमले रोकतोक नगर्ने उहाँले बताउनुभयो । यद्यपि ज्येष्ठ नागरिकले आफ्नो व्यक्तिगत काम भने गर्दै आएका छन् । सबैले अवसर पाउन र सहभागिता गराउनका लागि पनि यो नियम कार्यान्वयनमा रहेको बताउँदै उहाँले यसले सार्वजनिक काममा सहभागिता हस्तान्तरण भएको बताउनुभयो ।

पहिले निर्णय गर्दा ज्येष्ठ नागरिकको सहमति र उपस्थितिमै गरेका कारण यसको कोही कसैबाट विरोध नभएकाले अहिले उमेर पुगेको ज्येष्ठ नागरिक आफैँ यस्ता काममा सहभागी नभएर घरका अन्य सदस्यलाई पठाउने गरिएको उहाँले बताउनुभयो । हाल लिमीमा ६० वर्ष उमेर कटेका ज्येष्ठ नागरिक १६८ जना छन् ।