• २७ वैशाख २०८२, शनिबार

प्रदेशकै नमुना गुलरिया

blog

नेपाल सरकार र गुलरिया नगरपालिकाको सहलगानीमा निर्माण गरिएको सडक ।

बर्दियाको सदरमुकाम गुलरिया सङ्घीयतासँगै विकासको नमुनाका रूपमा अघि बढेको छ । विकास भएन भन्नेका लागि गुलरिया विकासको नमुनाका रूपमा अघि बढेको छ । पालिकाका जनप्रतिनिधि सङ्घीयतापछि पनि विकास भएन भन्नेले गुलरियाको विकास हेर्न जरुरी रहेको बताउँछन् । गुलरियामा २०७४ पछिको विकास साँच्चिकै मन लोभ्याउने खालको छ । 

केही वर्षअघिसम्म गुलरियामा साँघुरा सडक थिए भने बस्ती विकास हुन सकेको थिएन । २०७२ मा संविधान जारी भएपछि २०७४ सालमा स्थानीय तहको पहिलो निर्वाचन भयो । त्यसपछि गुलरिया नगरपालिकाकामा सुरु भयो विकासको लहर । अहिले पनि गुलरिया नगरपालिकाका गाउँ गाउँमा कालोपत्रे सडक निर्माण भएका छन् । सङ्घीयताको एक दशकमा गुलरिया नगरपालिकामा सङ्घीय सरकारबाट करिब ६६ किलोमिटर, प्रदेश सरकारबाट करिब पाँच किलोमिटर र स्थानीय सरकारबाट करिब ३० किलोमिटर सडक निर्माण भएको देखिएको छ । २०७४/७५ मा ल्याइएको सघन सहरी विकास कार्यक्रम अन्तर्गत तराईका २२ जिल्लामा लागु भएको सघन सहरी विकास कार्यक्रमले गुलरियाको रूप नै परिवर्तन गरेको छ । सघन सहरी कार्यक्रमले गुलरियामा भित्री सडक पनि चौडा र कालोपत्रे भएका छन् । गाउँ गाउँमा विकास परियोजना लागु भएपछि मात्र त्यस परियोजनामा ४२ किलोमिटर महँगो प्रविधिको अस्फाल्ट कालोपत्रे सडक निर्माण भएको छ । गुलरिया र झेनवा–जब्दी पुल, गुलरिया–ताराताल सडक, गणेशपुर–भैसाही सडक र गुलरिया–नेपालगन्ज सडक गुलरियाका महत्वपूर्ण सडक योजना हुन् ।

गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले विकासको महत्वपूर्ण मेरुदण्ड भनेको सडक भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारले प्राथमिकतामा राखेर सडक निर्माण गरिएको बताउनुभयो । यादवले भन्नुभयो, “सीमित स्रोतसाधनमा पनि हामीले सङ्घीय सरकार र स्थानीय सरकारको सहलगानीमा थुप्रै सडक निर्माण गरेका छौँ । जसले गर्दा गुलरियामा विकासले तीव्र रूप लिएको छ ।” गुलरिया नगरपालिका क्षेत्रमा अहिले हिलोमुक्त भएको छ भने माटो पटानी गरेका सडकमा ग्राभेल राख्ने काम स्थानीय सरकारले गरिरहेको छ । केही सडक स्थानीय सरकारले नै कालोपत्रे गर्ने योजना अगाडि सारेको छ । पहिले नगपालिकामा विकास भएन भन्नेहरू पनि अहिले विकास देखेर छक्क परेका छन् । नागरिक समाज सञ्जाल बर्दियाका अध्यक्ष हिमा सुनारले पछिल्लो समय सडक निर्माणले गुलरियाको विकासमा नयाँ आयाम थपेको बताउनुभयो ।

सङ्घीयता प्राप्तिपछि गुलरियामा थुप्रै विकासका काम भएका छन् । स्वास्थ्य सेवा लिएर स्वास्थ्यकर्मी नागरिकको घरमै पुग्ने गरेका छन् । १२ वडाका स्वास्थ्य चौकीमा नगरपालिकाले कालोपत्रे सडक पु¥याएको छ । सरकारको लक्ष्य अनुरूप गाउँ गाउँमा सिंहदरबार भने झैँ अधिकांश सबै वडा आफ्नै भवनमा सरेका छन् । सडक सञ्जालसँगै यातायातका साधन र अटो रिक्सासमेत गाउँ गाउँमा पुगेका छन् । कृष्णसार यातायात व्यवसायी प्रालिका महासचिव सन्तोष ज्ञवालीले यातायातका साधनको समेत सहज पहुँच पुगेको बताउनुभयो ।

  

Author

ज्योति पन्थी