श्री ५ को विरोधमा लेख्न सक्ने अवस्था थिएन । त्यो समय यस्तो थियो कि इसारामा काम गर्नुपर्ने थियो । मनसुवामा चल्नुपर्ने अवस्था थियो । ती सबै क्षण कठिन थिए । कहीँकतै निसानामा परिने त होइन ? अर्थको अनर्थ त लाग्ने होइन ? तरबारको धारमा लेख्नुपर्ने बाध्यता थियो ।
आज गोरखापत्रले १२४ वर्ष पूरा गरेर १२५ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा गोरखापत्र परिवार, पाठक, अध्येता सबैमा बधाई र शुभकामना व्यक्त गर्दछु । १२४ वर्ष अत्यन्त तीव्र परिवर्तनको वर्ष थियो । गिद्धे प्रेसदेखि आजको अत्याधुनिक प्रविधिको प्रेस आएको समय थियो । १०४ वर्षको जहानियाँ राणा शासन, पूरै समय त गोरखापत्रले देख्न पाएन । तथापि उथलपुथल समयावधि र राजतन्त्र र राणाका पारिवारिक द्वन्द्व यसले देख्यो । गोरखापत्रले धेरै चिज देख्यो ।
धेरै काण्ड देख्यो
पञ्चायतकालमा राणालाई जहानियाँ राणा शासन भनेको देख्दा पञ्चायत के हो त ? भन्ने मनमा जिज्ञासा उठ्ने गथ्र्यो । यसले धेरै चिज देख्यो । लाइब्रेरी पर्व, मकैका खेती पनि देख्यो । प्रचण्ड गोरखा पनि देख्यो । प्रजापरिषद् पनि देख्यो । शुक्रराज शास्त्री जस्ता निर्दोष व्यक्तित्वलाई मृत्युदण्ड दिएको निर्मम अवस्था पनि देख्यो । योद्धाहरूलाई अकारण सजाय दिएको देख्यो । उहाँहरूले परिवर्तनको आवाज उठाउनुभएको थियो ।
गङ्गालाल, धर्मभक्त माथेमाहरूले पर्चा निकालेर बाहिर छर्नुभएको थियो । १९९७ सालमा चार वटा पर्चा निकाल्नुभएको थियो । त्यसबेला पर्चा निकाल्नु ठुलो कुरा थियो । अहिले पनि हामी पर्चा दिवस मनाउँछौँ; कारण त्यो विद्रोह थियो । चेतनाहरूको बीजको पर्चा थियो त्यो । त्यस कारण मनाउँछौँ । गङ्गालाल श्रेष्ठले १९९४ मा एसएलसी उत्तीर्ण गरेर त्रिचन्द्र क्याम्पस पढ्न थालेपछि मानव अधिकारवादी संस्था बनाउनुभएको थियो । १९९५ मा मानव अधिकारसम्बन्धी नेपालमा उहाँको पहिलो भाषण थियो । राणा शासन फालिनु पर्छ, लोकतन्त्र आउनु पर्छ भन्ने उहाँको भाषणको आसय थियो ।
विसं १९९७ मंसिर १३ गतेदेखि इन्द्रचोकबाट भूमिगत हुनुभएको थियो । केही दिनपछि गिरफ्तार हुनुभयो र माघ १६ गते गङ्गालाललाई तत्कालीन राणाहरूले मृत्युदण्ड दिएका थिए ।
टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, चूडामणिहरूलाई चारपाटा मुडेर सर्वस्वसहित आजीवन कैदको सजाय दिइएको थियो । जेलको यातनाले मानसिक सन्तुलन गुमाउनुपरेको थियो उहाँहरूले । केही समयपछि म पनि त्यही जेलमा बस्नुपरेको थियो । उहाँहरू २७ महिना गोलघरमा बस्नुभयो । म १४ वर्ष बसेको थिएँ । उहाँहरू १० वर्ष गोलघरमा बस्दाबस्दै २००७ सालको आन्दोलन भएपछि छुट्नुभयो । त्यो समय अत्यन्त गतिशील थियो ।
गोरखापत्रको सङ्घर्ष
गोरखापत्रले सङ्घर्षको विगुल फुकेन, आदेशको पालना गर्यो, त्यो बाध्यता थियो । अहिले जस्तो चेतनालाई बिक्री गर्ने प्रचलन थिएन त्यतिबेला । बरु थाती राख्ने चलन थियो । अहिले अलिक समय फेरिएको छ । उल्टोपाल्टो काम हुन थालेको छ । सभ्यताको जगेर्ना गर्नु पर्छ भन्ने चेतना त्यसबेला गोरखापत्रलाई थियो । गोरखापत्रले पहिलो संस्करणमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा लिएको थियो । उसको नारा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःखभाग्जनः ।’ अद्यापि छापिन्छ । आज देश बनाउने, परिवर्तन ल्याउने, विकास गर्ने त्यतिबेला मूलमन्त्र थियो ।
गोरखापत्रले त्यो मूलमन्त्र गोरखापत्रले बोक्यो । गोरखापत्रले धेरै उतारचढाव देखेको छ । त्यसलाई झेल्दै विकास गरेको छ । आफूलाई अप्ठ्यारोमा राखेर देश र जनताका लागि काम गरेको छ । त्यतिबेला कति कठिन थियो होला सम्पादकीय लेख्न ? तर आज सहज छ । कहिल्यै प्रधानमन्त्री र सरकारबाट कुनै दबाब, नियन्त्रण र इसारा दिइने काम गरिएको छैन । आँखा पनि सरकारले गोरखापत्रप्रति झिम्क्याएको छैन । आज आफ्नो ब्रह्मले देखेको जे पनि लेख्न स्वतन्त्र हुनुहुन्छ । त्यतिबेला त्यो अवस्था थिएन । सङ्केत, इसारा, चित्रले भए पनि त्यतिबेला सरकारका विरुद्धमा लेख्न छुट थिएन । त्यो जमाना यस्तो थियो कि जुँगा बटारिँदा पनि मनसुवा बुझ्नुपर्ने अवस्था थियो । टाउको कन्याउने पनि छुट थिएन । आँखामा आँखा जुधाएर हेर्ने अवस्था थिएन ।
कुनै पनि हिसाबबाट त्यतिबेला राणा, श्री ५ को विरोधमा लेख्न सक्ने अवस्था थिएन । त्यो समय यस्तो थियो कि इसारामा काम गर्नुपर्ने थियो । मनसुवामा चल्नुपर्ने अवस्था थियो । ती सबै क्षण कठिन थिए । कहीँकतै निसानामा परिने त होइन ? अर्थको अनर्थ त लाग्ने होइन ? तरबारको धारमा लेख्नुपर्ने बाध्यता थियो । त्यस ठाउँबाट आज गोरखापत्र स्वतन्त्रतामा रमाउने अवस्थामा आइपुगेको छ । गोरखापत्रलाई स्वाभाविक रूपमा सरकारप्रतिको बफादारिता पनि छ । सँगसँगै देश र जनता भुल्नुहुँदैन भन्ने गोरखापत्रमा काम गर्नेहरूको मनमा सधैँ रहेको छ । त्यो मर्यादा गोरखापत्रले पालना गरेको छ । समय अनुसार पालना गरेको छ, पालना गर्ने कोसिस गरेको छ । परिस्थिति अनुसारको काम गोरखापत्रले गरेको छ । त्यसमा थुप्रै मूर्धन्य व्यक्तिले आफ्नो समय खर्च गर्नुभएको छ ।
शुद्धताको मानक गोरखापत्र
१२४ वर्षको यो समयमा समाजका अनेक विधाको प्रतिनिधित्व गर्दा समस्या थियो । अहिले धेरै विधा छन् समाचारका । विश्लेषण, सम्प्रेषण, शिक्षा, सूचना र मनोरञ्जनको क्षेत्रमा गोरखापत्रले स्वतन्त्रपूर्वक काम गरिरहेको छ । नेपाल र जनताको क्षेत्रमा महत्वपूर्ण काम गरेको छ । नेपाली भाषाको उत्थानमा, शुद्धताको मानकको काम गरेको छ । गोरखापत्रले जस्तो छापेको छ, त्यसलाई आधार मानेर अन्य पत्रपत्रिकाले लेखेका छन् । आजको भाषासम्म विकास गरेर ल्याउने काममा गोरखापत्र अगाडि छ । अहिले पनि अरूभन्दा भाषाको क्षेत्रमा ध्यान दिनु पर्छ, भाषिका आन्दोलन बचाउने क्षेत्रमा गोरखापत्रले काम गरेको छ । नातिसँग कुरा गर्दा ‘राष्ट्रपतिले भने’ भन्ने हो कि ‘भन्नुभयो भन्ने हो ?’ गोरखापत्रले ‘भन्नुभयो’ भन्छ, त्यसैले राम्रो गरेको छ । गोरखापत्रले ‘भन्नुभयो’ भनेर नेपाली भाषाको सम्मान गरेको छ । भाषाको मर्यादा र उचाइ कायम यसले गरेको छ ।
हामीसँग अनुकरणात्मक शब्दको कमी छैन । कसरी बस्ने हाम्रो बसाइ अनेक हुन्छ । हाँस्दा मुसुक्क, खिसिक्क, खित्का छाडेर, गलल्ल कसरी हाँस्छौँ, हाम्रा अनेक अनुकरणात्मक शब्द छन् । निपात शब्द त्यसै गरी धेरै छन् । अरू भाषामा यस्तो अवस्था छैन । नेपाली भाषामा यसको भण्डार छ । म गोरखापत्रलाई धन्यवाद दिन्छु । हाम्रो भाषा, संस्कृतिको रक्षा गर्ने काममा गोरखापत्र अग्रणी अवस्थामा छ ।
गोरखापत्रले खुरु खुरु समाचार मात्र छापेको छैन, यहाँका चाडपर्व, संस्कृति, नदीनाला, पर्यटन, यहाँका डाँडाकाँडा, जलस्रोत, धार्मिक स्थल, पशुपतिनाथ, हलेसी, मुक्तिनाथ, बौद्धनाथ, स्वयम्भू, शैलेश्वरी, उग्रतारा सबै चिन्दछ । सबैसँग परिचय भएको, सबैलाई अनवरत साथ दिने गोरखापत्र पत्रिका मात्र हो । साहित्य, संस्कृति, इतिहास, भाषा, अर्थतन्त्र, राजनीति, समाज अनेक पक्षका बारेमा काम गर्दै आएको छ । आज सम्मानित हुनेहरूको विधा पनि फरक फरक छ । तसर्थ गोरखापत्रले नेपाली समाजमा सबैको सेवा गर्दै आएको छ । गोरखापत्रको प्रशंसा निराधार होइन, यसले नेपाली समाज, देशको सेवा गरेको छ । ठुलो गुन लगाएको छ ।
२००७ सालको आसपासमा आउँदा अरू चिज पनि प्रकाशन हुन थाले । पर्चा, पम्प्लेटदेखि अन्य चिज प्रकाशन हुन थाले । १९९७ साल मङ्सिर १४ गतेको अङ्कमा त्यो गङ्गालालको भाषण प्रकाशन गरेको छ कि छैन, हेर्नुपर्ने हुन्छ तर गोरखापत्रले त्यो दिन देखेको छ । गोरखापत्रका अगाडि पपुलिस्ट प्रवृत्ति हाबी छन् । एउटा प्रवृत्ति र मिसन छ बाहिर बजारमा । आजको झुट के हो ट्रेन्डसेट गर्ने अभियान चलाइने गरिन्छ । गलत मिसनको सामना गोरखापत्रले पनि गर्नु परेको छ । एउटाले रातो जुत्ता लगाएर आए, अरूले ‘जुत्ता त कालो राम्रो हुन्छ’ भन्छ । कपडाको जुत्ता लगाए, ‘जुत्ता त छालाको राम्रो हुन्छ’ भनेर टिप्पणी गरिने गरिन्छ । गालीगलौज गर्नैपर्ने कतिपयको प्रवृत्ति हुन्छ । एआईको प्रयोग गरी चरित्रहत्या गर्ने प्रवृत्ति बढेको छ । कतिको परिवार सङ्कटमा पार्ने काम भएको छ । कतिपय पत्रिकाले ब्ल्याकमेलिङ पनि गर्छन् । त्यसरी कमाएका पनि छन् तर गोरखापत्रको त्यो अवस्था छैन । यसले एउटा स्ट्यान्डर्ड कायम गरेको छ । म त्यसको प्रशंसा गर्दछु । जनतालाई सूचना दिने, भाषा, कला संस्कृतिको रक्षामा यसले काम गर्दै आएको छ । यसका लागि आगामी दिनका लागि पनि म शुभकामना दिन चाहन्छु ।
आज सम्मानित हुने सबैलाई हार्दिक बधाई भन्न चाहन्छु । गोरखापत्रले १२५ वर्ष प्रवेश गरेको छ । अढाई सय वर्षपछि पनि गोरखापत्रको तारिफ गर्न हाम्रा सन्ततिले यसै गरी पाऊन् शुभकामना व्यक्त गर्दछु । अब डिजिटलको जमाना आयो । डिजिटलमा सबै चिज सेभ गर्न समस्या हुन्छ । डिभाइस बिग्रन सक्छ तर प्रिन्ट मिडियामा त्यो हुँदैन । यसको सान्दर्भिकता अझ राम्रो छ । डिजिटल मिडिया लगातार हेर्नुभयो भने आँखा जँचाउनुपर्ने हुन्छ । गोरखापत्र जिन्दगीभरि पढ्नूस् कहिल्यै आँखा जँचाउनु पर्दैन । डिजिटल पनि पढ्नु पर्छ तर गोरखापत्र पढे जस्तो हुँदैन । गोरखापत्रले देश र जनताको सेवाको सम्मान गर्दै भविष्यमा अझ ठुला सफलताको कामना गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु, धन्यवाद ।
(गोरखापत्रको १२५ औँ वर्ष प्रवेश तथा ६३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको सम्बोधनको सम्पादित अंश)
प्रस्तुति : लक्की चौधरी