• १८ वैशाख २०८२, बिहिबार

लोकप्रिय बन्दै केराका परिकार रौतहटमा तीन वटा ‘बनाना रिसोर्ट’

blog

चन्द्रपुर समाचारदाता

चन्द्रपुर (रौतहट), वैशाख १८ गते । रौतहटमा सयौँ किसान केरा खेतीमा आबद्ध छन् । केरा खेतीसँगै केराबाट विभिन्न परिकार बनाएर पस्कने विचारले रौतहटमा रेस्टुरेन्ट व्यवसाय फस्टाउन थालेको छ ।

पछिल्लो समय रौतहटको ईशनाथ नगरपालिकामा एक तथा दुर्गा भगवती गाउँपालिकामा दुई वटा बनाना रेस्टुरेन्ट सञ्चालनमा छन् । काँचो र पाकेको केराबाट तयार गरिने बनाना चिप्स, अचार, पकौडा, फिङ्गर चिप्स, चिल्ली, सेकुवा, समोसा, मम, खिर, बर्फी, कस्टर, हलुवा र वाइनलगायतका परिकारको स्वाद लिन आउनेको सङ्ख्या बढ्दो छ । 

केराबाट लगभग २६ प्रकारका खाद्य वस्तु बनाएर खुवाउने ईशनाथ नगरपालिका–२, औरैयाका राकेश गुप्ता ईशनाथमा मात्र नभई जिल्लाभरि चिनिनुभएको छ । उहाँको ‘बनाना रिसोर्ट’ मा सीमावर्ती भारतका ग्राहक दिनहुँ केराबाट बनेका परिकार खान पुग्छन् । केराबाट तयार भएको खाजाका प्रकार स्वास्थ्यको हिसाबले पनि फाइदा गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गर्छ ।

उहाँ रेस्टुरेन्टमा केराको बोटको बिचमा सेमिनार हलसमेत छ । करिब २२ कट्ठा क्षेत्रफलमा रहेको रिसोर्टमा आफ्नै केरा बगान छ । तालिम हलसमेत रहेकाले बैङ्क, विद्यालय, सहकारी संस्था, गैरसरकारी संस्था तथा नगरपालिकासमेतले यहाँ विभिन्न प्रकारका कार्यक्रमसमेत गर्ने गरेको सञ्चालक गुप्ताको भनाइ छ । कार्यक्रम हुँदा सहभागीले स्थानीय उत्पादन खाने गरेको र त्यसले आम्दानीसँगै आफ्नो नाम फैलिँदा खुसी लागेको उहाँ बताउनुहुन्छ ।

चुनौती र सम्भावना दुई वटै रहेको केरा खेती कम लगानीमा बढी परिश्रम गर्नसके आम्दानी पनि राम्रो हुने व्यवसायी बताउँछन् । दुर्गा भगवती गाउँपालिका–१ मा बनाना रिसोर्ट सञ्चालन गरेर आफ्नो परिवारको भरण पोषण राम्ररी गरिरहेको बताउनुहुन्छ अर्का बनाना रिसोर्ट सञ्चालक राकेश गिरी ।

केरा बिक्रीसँगै यसका परिकार बनाएर महिनाको ८० हजारसम्म आम्दानी हुने गरेको सञ्चालक गिरी बताउनुहुन्छ । गिरीले आठ कट्ठा क्षेत्रफलमा सञ्चालन गरेको रिसोर्टमा केराका ४६ प्रकारका परिकार बनाइन्छ । केकसमेत बनाउने बनाउने भएकाले जन्मदिन, विवाह वार्षिकोत्सवलगायतका समारोहमा केकको समेत राम्रो खपत हुने गरेको उहाँ बताउनुहुन्छ ।

दुर्गाभगवती गाउँपालिका–२ मा रहेको बनाना रिसोर्टका सञ्चालक रजनीशकुमार शर्माका अनुसार न्यून लगानीमा स्वास्थ्यवर्धक खाजाका लागि दिनहुँ ४०/५० जना आउने गरेका छन् । केरा बिक्रीसँगै रिसोर्ट सञ्चालनबाट महिनाको ३०/४० हजार कमाइ हुने भएकाले परिवार धान्न कुनै समस्या नरहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार केराबाट बनाइने परिकारको खपत बढाउन स्थानीय सरकारको भूमिका आवश्यक हुन्छ । दिवा खाजाका रूपमा विद्यालयले सातामा एक दिन केराका परिकार खुवाउने व्यवस्था भए आफूहरूको व्यवसाय बढेसँगै बालबालिकासमेतले स्वास्थ्यवर्धक खाजा पाउने भएकाले त्यसतर्फ स्थानीय सरकारले चासो लिनुपर्ने सञ्चालक शर्माको भनाइ छ ।