• ६ वैशाख २०८२, शनिबार

संरक्षणको पर्खाइमा सिर्जना पार्कका मूर्ति

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, वैशाख ४ गते । कोशी प्रदेशको पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले छ वर्षअघि निर्माण सुरु गरिएको मोरङको बेलबारी–१०, भाउन्नेस्थित सिर्जना पार्क बजेट अभावमा अलपत्र परेको छ । २०७५ सालको फागुन ३ देखि २१ गतेसम्म १८ दिन सिर्जना अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरी सो स्थानलाई मूर्तिकलाको अध्ययन र प्रदर्शनीस्थल बनाउने महत्त्वाकाङ्क्षी योजना बनाइएको थियो । नेपाललगायत बङ्गलादेश, भारत, जापान, इटाली र जर्मनीका मूर्तिकारको सहभागितामा सञ्चालन भएको मूर्तिकला कार्यशालामा ३० जना कलाकारले ढुङ्गामा मूर्ति खोपेका थिए । आधुनिक र परम्परागत यन्त्र प्रयोग गरेर छ देशका कलाकारले १८ दिनसम्म विशाल ढुङ्गामा मूर्ति खोप्दा स्थानीयवासीलाई गाउँमा केही होला झैँ भएको थियो ।

सङ्घीय, प्रदेश र स्थानीय सरकारका प्रमुखले समेत सिर्जना पार्क बेलबारीको विकासमा कोसेढुङ्गा बन्ने बताएका थिए तर सिर्जना सामुदायिक वन उपभोक्ता समूहको २१.९४ हेक्टर क्षेत्रफलमा फैलिएको मूर्तिकला अध्ययन केन्द्र छ वर्षयता जस्ताको जस्तै छ । झन्डै ५० लाख रुपियाँ खर्च भएको उक्त कार्यक्रमको आवश्यकतामाथि अहिले स्थानीयले प्रश्न उठाउन थालेका छन् । कलाकार ढुङ्गामा मूर्ति खोपेर आफ्नो आफ्नो देश लागे । त्यसयता सिर्जना पार्कमा थप केही गतिविधि नभएको स्थानीय बताउँछन् । बेलबारी–१०, भाउन्नेका चूडामणि बुढाथोकीले भन्नुभयो– ‘‘यो पार्क बन्ना भनेर स्थानीय धेरै खुसी थिए । व्यापार, व्यावसाय बढ्ला भन्ने अपेक्षा थियो । सिर्जना पार्कमा बनेका ४० वटा मूर्ति अहिले वनमारा घारीभित्र छोपिएका छन् । लाखौँ खर्च र स्रष्टाको पसिना बगेका मूर्तिको संरक्षणसमेत भएका छैनन् ।’’ सिर्जना सामुदायिक वन उपभोक्ता समूह र धनु आर्ट स्टुडियो काठमाडौँको संयुक्त आयोजनामा भएको कार्यशाला सकिएपछि कसैले फर्किएर नहेरेको स्थानीयको गुनासो छ । पार्कभित्र रहेका अमूर्त र मूर्त मूर्तिहरूमा लेउ पलाइसकेको छ । लेउ र धुलोले कतिपय मूर्तिले दिने सन्देश नै बदलिएको छ । 

धनु आर्ट स्टुडियोका सञ्चालक एवं मूर्तिकार धनु याक्खाले भन्नुभयो– ‘‘सानोतिनो बजेटले यो योजना सम्पन्न हुन्न । बजेट जुटाउन सकेका छैनौँ ।’’ यो बेलबारी नगरपालिकाको सम्पत्ति भएकाले यसको संरक्षण र विस्तारको जिम्मा नगरले लिनुपर्ने याक्खाले बताउनुभयो । बेलबारी–१० का वडाध्यक्ष गङ्गाबहादुर याक्खाले चालु आर्थिक वर्षको बजेटमा डिपिआर गर्नलाई बजेट व्यवस्थापन गरेको बताउनुभयो । यो महत्त्वाकाङ्क्षी योजना भएकाले वडा, नगर र प्रदेश सरकारबाट भन्दा पनि सङ्घीय सरकारबाट सम्भव हुन्छ । त्यसैले बजेट जुटाउन हामी व्रिmयाशील छौँ । विकास भनेको सडक र बिजुली मात्र होइन भन्ने सोचेर यो योजनामा बजेट लगाउने हो भने बेलबारी अन्तर्राष्ट्रिय मूर्तिकलाको केन्द्र बन्न सक्ने उहाँको भनाइ छ ।