• ३ वैशाख २०८२, बुधबार

सहिद स्मारकमा बिस हजार पर्यटक

blog

मकवानपुर समाचारदाता 

मकवानपुर, वैशाख २ गते  । हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकमा नयाँ वर्ष २०८२ को पहिलो दिन सोमबार आन्तरिक तथा बाह्य पर्यटक थेगी नसक्नु गरी पुगेका छन् । 

नयाँ स्थानसँगै मठमन्दिरमा परिवार र साथीभाइसँगै जाने आमप्रचलन अनुसार नयाँ गन्तव्यस्थलको खोजीका क्रममा सहिद स्मारकमा पर्यटकको ठुलो सङ्ख्यामा भिड लागेको हो । 

पछिल्ला वर्षमा शुभकामना आदानप्रदान र रमाइलो गर्ने गन्तव्यस्थल पछिल्ला वर्षमा सहिद स्मारक बन्दै आएको छ । 

स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले स्मारकमा नयाँ वर्षको पहिलो दिन घुम्न र रमाइलो गर्न आउनेको थेगी नसक्नु रहेको बताउनुभयो । 

पिकनिक खानेभन्दा घुम्न र रमाइलो गर्न आउनेको सङ्ख्या बढी छ उहाँले भन्नुभयो, “नयाँ वर्षको पहिलो दिन २० हजारभन्दा बढी पर्यटक स्मारक अवलोकन एवं मनोरञ्जनका लागि आइपुगेको अनुमान छ ।”

स्मारकमा यो पटक तराई मधेशका पर्यटक बढी सङ्ख्यामा आएको देखिन्थ्यो । साथै सीमावर्ती भारतका जिल्लाबाट समेत घुमघामका लागि यहाँ आइपुगेका थिए । 

सहिद स्मारकमा सहिद स्तम्भ, चिडियाघर, बालउद्यान, नेताको नाममा पार्क, सङ्ग्रहालय, बुद्ध मूर्तिलगायतका संरचना छन् । यस्तै स्मारकमा बत्ती जडानसँगै सौन्दर्यीकरण थप गरिएपछि यस क्षेत्रकै पर्यटकीय गन्तव्य बन्नेको छ ।