• २६ चैत २०८१, मङ्गलबार

शैक्षिक सत्र सुरु हुनुअगावै पाठ्यपुस्तक

blog

खलङ्गा समाचारदाता 

दार्चुला, चैत २४ गते ।  सुदूरपश्चिम प्रदेशको विकट एवं हिमाली जिल्ला दार्चुलामा शैक्षिक सत्र २०८२/८३ सुरु हुनुअगावै पाठ्यपुस्तक पुगिसक्ने शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले जानकारी दिनुभएको छ । यहाँका नौ वटै स्थानीय तहले विद्यालयका खातामा पाठ्यपुस्तक खरिदका लागि आवश्यक पर्ने रकम निकासा भएसँगै पुस्तक ढुवानीकर्ताले विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने तयारी गरिरहेका छन् । 

सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाका केही विद्यालयका पाठ्यपुस्तक बिहीबार बिहान खलङ्गा आइपुगेका छन् । नगरपालिकाका केही विद्यालयमा पुस्तक पठाउनेको जिम्मा पाएको भावना स्टेसनरी एन्ड बुक्स डिपो खलङ्गाका सञ्चालक राजेन्द्रप्रसाद बडूका अनुसार खलङ्गामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालय, मालिकार्जुन नमुना माध्यमिक विद्यालय धाप, छन्ना तिङ्करी कन्या माध्यमिक विद्यालय खलङ्गा र हुस्कर माध्यमिक विद्यालय काटैका पाठ्यपुस्तक आइपुगेको पुष्टि गर्नुभयो । 

अन्य स्थानीय तहका विद्यालयमा समेत पाठ्यपुस्तक पुग्ने क्रम जारी रहेको समन्वय एकाइ प्रमुख पन्तले बताउनुभयो । पुस्तक ढुवानीकर्ताले एक/दुई दिनभित्रै सबै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने जानकारी दिएको उहाँले जानकारी दिनुभयो । 

“धेरै जसो विद्यालयका पाठ्यपुस्तक जिल्ला पुगिसके, पुस्तक दिवसका दिन विद्यार्थीको हात हातमा पुस्तक हुन्छन्,” उहाँले भन्नुभयो । सोही दिनदेखि पढाइसमेत सुरु हुन्छ, उहाँले थप्नुभयो । २०८२ वैशाख ५ गते पुस्तक दिवस भव्यताका साथ मनाइने पनि बताइएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र पाठ्यक्रम विकास केन्द्रमार्फत निजी छापाखानाले प्रकाशन गरेका पुस्तक विकट जिल्ला दार्चुलामा समयमै आइपुगेका छन् । 

विगतका वर्षमा शैक्षिक सत्र सुरु भएपछि पनि ढिलो गरेर उपलब्ध हुने पाठ्यपुस्तक यस वर्ष भने समयमै आइपुगेका हुन् । समयमै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक उपलब्ध हुँदा अध्यापन र विद्यार्थीलाई पढाइमा समेत सहजता हुने छन्ना तिङ्करी कन्या माध्यमिक विद्यालय खलङ्गाका शिक्षक केशवदत्त भट्टले बताउनुभयो ।

 दार्चुलामा ३३३ सामुदायिक विद्यालयको सङ्ख्या रहेको छ भने आधार तह (१–८) मा एक्काइस हजार ३४० र माध्यमिक तह (९–१०) मा पाँच हजार २७५ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी सङ्ख्याका आधारमा पाठ्यपुस्तक सुनिश्चित गराइने बताइएको छ । 

नयाँ शैक्षिक सत्र सुरु भएकै दिनदेखि जिल्लाका करिब बत्तिस हजारभन्दा बढी विद्यार्थीको हात हातमा पाठ्यपुस्तक हुने शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तको भनाइ छ ।

विद्यालय सञ्चालन अगावै किताब 

बाजुरा समाचारदाताका अनुसार किताब आयो लैजानु भन्ने खबरको पर्खाइमा रहन बाध्य भएका बाजुराका विद्यालयले यो वर्ष भने विद्यालय सञ्चालन गर्नुअगावै किताब प्राप्त गरेका छन् । 

शैक्षिक सत्र २०८२ का लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढी कैलालीले चैतको दोस्रो हप्तामै यहाँका विक्रेतालाई किताब वितरण गरेसँगै विद्यालयले पनि विद्यालय सञ्चालन गर्नुअगावै किताब प्राप्त गरेका हुन् ।

पहिला विद्यालयको परीक्षाफल प्रशासन गरेर पढाइ सञ्चालन गरेको छ महिनासम्म पनि किताब पाइँदैन थियो । यो वर्ष भने हामीले रिजल्ट प्रकाशन गर्नुअगावै विद्यालयमा किताब प्राप्त भएको गौमूल गाउँपालिका–३, थुम्थला आधारभूत विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर धामीले बताउनुभयो ।  बाजुरालाई यो वर्षमा पनि केन्द्रले पहिलो पालो दिएकाले आफूले चैत १९ गतेभित्र बाजुरामा किताब पु¥याएर विद्यालयलाई वितरण गरेको करुण जनरल स्टोरका प्रोप्राइटर नृपबहादुर खातीले बताउनुभयो ।