• ८ वैशाख २०८२, सोमबार

धार्मिक पर्यटनको सम्भावना बोकेको भैरव मन्दिर

blog

बाग्लुङ बलेवाको डाँडामा रहेको काल भैरव मन्दिर ।

प्रनिश गिरी

कुश्मा, पर्वत फागुन ६ गते । बाग्लुङको बलेवामा पर्ने कालभैरव मन्दिर गण्डकी क्षेत्रकै प्रसिद्ध धार्मिक शक्तिपीठमध्येमा मानिन्छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व रहेको भैरव मन्दिरले धार्मिक पर्यटन समेत उत्ति नै सम्भाव्यता बोकेको छ । 

बाग्लुङ नगरपालिका –१२ मा रहेको कालभैरवको दर्शन र भैरवस्थान क्षेत्रको अवलोकन भ्रमणका लागि आउने दर्शनार्थीको संख्या वर्षेनी बढ्दो छ । भैरवस्थान गुठी व्यवस्थापन समितिका अनुसार पहिले भक्तजनलाई पूजागर्न प्रत्येक महिनाको मंगलबार र शनिबार मात्र मन्दिर खुला रहने गर्दथ्यो । 

व्यवस्थापनको जिम्मेवारी समितिले लिएसँगै मन्दिर विगत केही वर्षदेखि हरेक दिन खुला गरिँदैआएको छ । वर्षको ३६५ दिन मन्दिर खुला रहने र वर्षेनी भदौको पहिलो मंगलबार हरेलो मेलाको आयोजना गरिने भएपछि भैरवको दर्शन गर्न आउने भक्तजनको संख्या वृद्धि भएको समितिका सदस्य यामबहादुर केसीको दावी छ ।

भैरवको पूजा गरेपछि मनले चिताएको पूरा हुने विश्वास बोकेर भैरव देवताको पूजा गर्न भक्तजन टाढाबाट आउँछन् । समितिका अनुसार भक्तजनले चढाएको दान दक्षिणाबाट मन्दिरमा यस आर्थिक वर्षको ७ महिनामा १० लाख रुपियाँ संकलन भएको छ । 

यसअघि व्यवस्थापनको जिम्मा ठेकेदारमार्फत् हुँदा ५ देखि ६ लाख रुपियाँ मात्र संकलन हुने गर्दथ्यो । भैरवको दर्शन गर्न आउने धेरैजसो भक्तजनले प्राकृतिक सुन्दरता र आकर्षक स्थलमा रहेको मन्दिर किन सानो आकार भन्दै जिज्ञासा राख्ने गरेको समितिका सदस्य केसीको भनाइ छ । 

समिति सदस्य केसीले भन्नुभयो, “विशाल डाँडामाथि रहेको मन्दिर सानो देखिँदा र भित्र बसेर पूजा गर्न समेत साँगुरो भएपछि धेरैजसो भक्तजन र मन्दिर क्षेत्र घुम्न आउने पर्यटकले मन्दिरको संरचना विशाल र भव्य बनाउन आग्रह गरेका छन् । मन्दिरको संरचना विशाल भयो भने धेरै टाढाबाट पनि देखिने थियो भन्ने सबैलाई लाग्दो रहेछ ।”

भुरेटाकुरे राजाको पालामा वि. सं १७७९ तिर खरको छानाले छाएर बनाइएको मन्दिर यतिखेर पक्की भौतिक स्वरुपमा देखिए पनि आकारमा सानो र पूजारीलाई भित्र बसेर पूजा गर्न समेत साँगुरो भइरहेको छ । 

भैरवस्थान गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालकाअनुसार मन्दिरको भौतिक संरचना निर्माण गर्न भनी वि.सं २०४७ मा राजा विरेन्द्रको तोक आदेशमा ५० हजार सहयोग भएपछि पक्की पिल्लर राखेर तामाको छाना बनाइएको थियो । अध्यक्ष ढकालले मन्दिरको पुनरनिर्माण आवश्यक रहेको बताउँदै भन्नुभयो, “गण्डकी क्षेत्रकै प्रसिद्ध भैरव मन्दिर जुन तीनसय वर्ष पुरानो इतिहास बोकेको छ । भौतिक संरचनाको हिसावले मन्दिरलाई भव्य र आकर्षक बनाउन सकेमा धार्मिक पर्यटन मार्फत् यस क्षेत्रकै आर्थिक समृद्धि सम्भव थियो ।” 

भैरवास्थान क्षेत्रको विकासका लागि गुरुयोजना तयार भएको भए पनि आर्थिक अभावकै कारण भैरवस्थान भौतिक विकासको गुरुयोजना अगाडि बढाउन नसकिएको उहाँको भनाइ छ । 

व्यवस्थापन समितिका अनुसार यस आर्थिक वर्षमा मन्दिरको अगाडि गेट, पश्चिम पट्टि सत्तल निर्माणसँगै वैठक कक्ष साथै भिरछेउमा तारजाली राख्ने काम सम्पन्न हुँदैछन् । गेट अगाडि केही सटर निर्माण गरी भाडामा लगाएर मन्दिरको मासिक ३० हजार आम्दानी रहेको छ । 

वडा अध्यक्ष कोपिलमणि शर्माले वडा अध्यक्षको चुनावमा लड्दै गर्दा मनमनै भैरव देवतासँग विजयी बनाइ दिन कामना गरेको सम्झिनु हुन्छ । भैरवस्थान क्षेत्रको वृहत्तर विकासका लागि सबै लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष शर्माले भन्नुभयो, “नेपालीको आस्था र विश्वास जोडिएको भैरव मन्दिरलाई मौलिकशैली र आकर्षक ढङ्गबाट पुनरनिर्माण हुनुपर्छ । विकास हामी सबैको चाहना भैरवास्थान क्षेत्रलाई वृहत्तर विकास गरी धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्छ भन्नेछ ।” यसका लागि संघीय पर्यटन मन्त्रालयमा गुरुयोजना सहित आर्थिक बजेट माग गरिएको उहाँले बताउनुभयो ।  

तल्लो संरगीदेखि रातामाटा हुँदै भैरवस्थान सडकका लागि ५ करोड लागतको बहुवर्षीय कालोपत्रे सडक निर्माण योजनाको काम सुरु हुँदैछ । यो सडकको निर्माणले भैरवस्थान क्षेत्रको धार्मिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ ।