• २० माघ २०८१, आइतबार

बर्दीबास ६ किसाननगर बालविवाहमुक्त वडा घोषणा

blog

तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, माघ २० गते । ‘सानै छौं बढ्न देऊ, बिहे हैन पढ्न देऊ’ भन्ने सन्देशमूलक नारासाथ बर्दीबास ६ किसाननगर बालविवाहमुक्त वडा घोषणा भएको छ । वडा कार्यालयले किसाननगरमा औपचारिक कार्यक्रम गरी ‘बालविवाह मुक्त घोषणा पत्र २०८१’ जारी गर्नुका साथै यसविरुद्धको साझा प्रतिबद्धता पत्रमा सामूहिक हस्ताक्षर गरी बालविवाहमुक्त वडा घोषणा गरेको हो । 

१४ वटा वडा रहेको बर्दीबास नगरपालिकामा बालविवाहमुक्त घोषणा गर्ने वडाको सङ्ख्या अब १० पुगेको छ । घोषणा सभालाई सम्बोधन गर्दै नगरप्रमुख प्रह्लाद क्षेत्रीले बाँकी रहेका वडाहरुलाई पनि छिट्टै बालविवाहमुक्त गरि बर्दीबासलाई महोत्तरी जिल्लाकै पहिलो नगर घोषण गर्ने अभियानमा जुटेको बताउनुभयो । यसका लागि नगरपालिकाले रणनीतिकरुपमै अभियान सञ्चालन गर्दै आएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सामाजिक समस्याको रुपमा रहेको बालविवाह जस्ता विकृति उन्मूलनका लागि घोषणा गरेर मात्र पुग्दैन समाज र परिवारले निरन्तर निगरानी र खबरदारी पनि गर्नुपर्छ ।’

नगर उपप्रमुख तारादेवी महतोले मधेशी समुदायलाई दाइजो प्रथा र बालविवाहबट मुक्त गर्नु चुनौतीपूर्ण भएको अनुभव सुनाउनुभयो । स्थानीय तह पुनःसंरचनाका क्रममा साविकको किसाननगर गाविसअन्तर्गतका ६ वटा वडा गाभिएर बनेको बर्दीबास ६ विगतमा बालविवाहले आक्रान्त वडा थियो ।  

वडाध्यक्ष पदमबहादुर आलेकाअनुसार एक हजार ९८ घरधुरीमा साढे ६ हजार जनसङ्ख्या बसोबास गर्ने यस वडामा ०७६ सालमा गरिएको एक सर्भेअनुसार बालविाह दर ५० प्रतिशत थियो । सर्भेले अवस्था भयावह र चुनौतीपूर्ण देखाएपछि वडाध्यक्ष आलेकै नेतृत्वमा ‘वडा बाल समिति’ गठन गरि बालविवाहविरुद्ध सचेतीकरण अभियान सुरु भयो । सचेतनाका लागि बालबालिका घरघरै पुगेर सडक नाटक मञ्चन गरे । कानुनी प्रावधानबारे जानकारी गराए। 

अभियानलाई सेभ द चिल्ड्रेन, सामुदायिक विकास पैरवी मञ्च जस्ता सङ्घसंस्थाले साथ दिन थाले । वडा प्रहरी, स्वास्थ्य चौकी, नागरिक समाज, आमा समूह पनि कार्यक्रममा जुट्दै गए । अभियान प्रभावकारी हुँदै गयो । २ वर्षपछि वडा र अभियानकर्ता सङ्घसंस्थाले दोस्राे सर्वे गर्दा किसाननगरको बालविवाह दर ८० प्रतिशतमा झरेको देखियो । ०७८ सालसम्म आइपुग्दा ९० प्रतिसतमा झार्न सफल भएको उहाँले बताउनुभयो । 

अभियानले वडामा व्याप्त विकृति उन्मूलनमा सघाउ मात्र पुर्‍याएन वडाध्यक्ष आलेलाई लोकप्रिय पनि बनायो । परिणामस्वरुप ०७९ को निर्वाचनमा उहाँ दोस्राेपटक वडाध्यक्षको रुपमा निर्वाचित भएपछि अभियानले थप बल पायो। अभियानले साकाररुप लिंदै जाँदा यस वडाको बालविवाह दर ९७ प्रतिशतमा झार्न सफलता मिलेपछि आज वडा न. ६ लाई बालविवाहमुक्त घोषण गर्न पाउनु सबैका लागि विजय उत्सवसरह भएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष आलेले भन्नुभयो, ‘बालविवाह मुक्त समाज सभ्यताको प्रतीक र कानुनी राज्यको सफलता पनि हो ।’ बाँकी देखिएका ३ प्रतिशत बालविवाह पनि अभिभावकका कारण नभै किशोर किशोरीबिच भागी विवाह भएको सर्वेका क्रममा देखिएकोले यसलाई शून्यमा झार्ने प्रयास पनि भइरहेको उहाँको भनाइ थियो ।  

घोषणा सभामा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राममणि अधिकारीले बालविवाह कानुनी अपराध भएकोले यसविरुद्ध समाज कठोर हुनुपर्ने बताउनुभयो । समाजका अगुवा, पण्डित पुरोहित, अभियानकर्मी, कानुन व्यवसायी सबैको सहयोगले बालविवाहलाई सदाका लागि अन्त्य गर्न सकिने धारणा राख्नुभयो । 

सामुदायिक विकास पैरवी मञ्चका अभियानकर्मी नागदेव यादवले नगर क्षेत्रमा बाँकी रहेका ४ वटा वडालाई पनि बालविवाहमुक्त घोषणा गर्ने अभियानमा समन्वय र सहकार्यको प्रतिबद्धता गर्नुभयो ।