जनार्जन खत्री
सर्लाही, माघ १८ गते । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैता नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । नगरपालिकाले शुक्रबार गोडैता नगरपालिका–३, स्थित जनता माध्यमिक विद्यालय भगवतीपुरमा नगरभरका ९१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई भेला पारेर साइकल वितरण गरेको हो ।
अत्यन्तै न्यून पारिश्रमिक लिएर गाउँघरमा स्वास्थ्य सेवा प्रवाह गर्न उच्च योगदान पुर्याउने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप नगरभित्र यसरी पहिलो पटक साइकल उपलब्ध गराइएको नगरप्रमुख देवेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई पारिश्रमिक वापत मासिक एक हजार रुपियाँ दिँदै आएकोमा गोडैता नगरपालिकाले सो रकममा बपालिकाको तर्फबाट दुई हजार रुपियाँ थप गरेर उपलब्ध गराउँदै आएको छ । अधिकतम सुविधा लिएर पनि स्वास्थ्य सेवा प्रवाह गर्न निरन्तर परिचालित महिला स्वास्थ्य स्वयंसेविकालाई नगरप्रमुख यादव, उपप्रमुख अन्जना कुशवाहा, जिल्ला समन्वय समिति प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद साहलगायतले साइकल हस्तान्तरण गर्नुभएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकालाई गत वर्ष नै साइकल उपलब्ध गराउने तयारी भए पनि प्रक्रिया पूरा गर्न समय लागेको नगरपालिका कार्यालयले जनाएको छ। आफूले गरेको कामको कदर गर्दै नगरपालिकाले सम्मानस्वरुप साइकल प्रदान गरेपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् ।
महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्न आयोजित कार्यक्रममा गोडैता नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि माथिको जीपीए प्राप्त गर्ने नगरभित्रका १० जना विद्यार्थीलाई जनही २५ हजार रुपियाँसहित पुरस्कृत गरेको छ । नगरभित्रका दुई सामुदायिक विद्यालयबाट सबैभन्दा माथिल्लो ग्रेड ल्याएर एसइइ उत्तीर्ण विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।
वेणी भोला नमुना माध्यमिक विद्यालय गोडैता ८ बाट आशुुतोषकुमार झा, विशालकुमार झा, आलोककुमार कुशवाहा, अनु कुशवाहा सिंह, सुदीक्षा प्रजापति, आदित्यनारायण झा, निश्चल प्रतीक र पल्लवीकुमारी तथा नारायणहरि माध्यमिक विद्यालय गोडैता नगरपालिका–१०, सिसौटियाबाट सुशान्त यादव र सुस्मिताकुमारी यादव पुरस्कृत हुनुभएको छ ।
ती छात्राछात्रा उच्च शिक्षा अध्ययन गर्न अहिले विभिन्न ठाउँमा पुुगेकाले बैङ्क खातामार्फत पुरस्कारको रकम जम्मा गरेर उनीहरुका अभिभावकलाई कार्यक्रममा सम्मान गरिएको गोडैता नगरपालिकाको शिक्षा शाखाका प्रमुख प्रमोदकुमार यादवले बताउनुभयो ।