अमरराज नहर्की
तनहुँ, माघ ५ गते । तनहुँमा उत्कृष्ट बाख्रा पालक किसानलाई नगदसहित सम्मान गरिएको छ । तनहुँको भानु नगरपालिका, राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौली, बरभन्ज्याङ बाख्रा पालन समूह र नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको संयुक्त आयोजनामा चौंथो राष्ट्रिय बाख्रा दिवसको अवसरमा सम्मान गरिएको हो ।
स्थानीय जाततर्फ प्रतियोगितामा भानु नगरपालिका –५ का चोपकान्त पोख्रेल प्रथम हुँदै नगद १० हजारसहित सम्मान पाउनुभयो । उन्नत जाततर्फ भानु नगरपालिका –९ का मान सिंहगुरुङले पनि प्रथम भई नगद १० हजारसहित सम्मानित हुनुभयो ।
स्थानीयतर्फ बिमला अधिकारी र उन्नततर्फ काजी थापा द्वितीय हुनुभयो । स्थानीयतर्फ रोमनबावु अधिकारी र उन्नततर्फ रामबहादुर गुरूङ तेस्रो हुनुभयो । स्थानीयतर्फ काजीराम अधिकारी र उन्नततर्फ तिलकुमारी अधिकारी सान्त्वना हुनुभयो ।
स्थानीय र उन्नतमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः जनही १० हजार, आठ हजार, छ हजार र चार हजार नगदसहित सम्मान गरिएको थियो । उत्कृष्ट किसानलाई भानु नगरपालिकाको प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका प्रमुख राजु कँडेल, नेपाल व्यावसायिक बाख्रापालक महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद सुवेदी, महासचिव तारानाथ पौडेल, गण्डकी प्रदेशका अध्यक्ष यामप्रसाद आचार्य लगायतले शुक्रबार संयुक्त रुपमा सम्मानपत्र तथा नगद प्रदान गर्नुभयो ।
सम्मानपत्र प्रदान गर्दै भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नेपालको आर्थिक समृद्धि कृषिबाट हुने भएकाले किसानलाई प्रोत्साहन गर्न नगदसहित सम्मान गरिएको बताउनुभयो ।
कार्यक्रममा भानु नगरपालिकाको उपप्रमुख उमा गोतामे, वडा ६ का वडाध्यक्ष धिरेस खनाल, नेपाल बाख्रापालक व्यवसायी महासङ्घ केन्द्रीय सदस्य कुशलचन्द्र अधिकारी, पूर्व जिल्ला अध्यक्ष मानबहादु भण्डारी, वरभञ्ज्याङ बाख्रापालक समूहका अध्यक्ष कृष्णसिंह ठकुरी, सदस्य पुष्पा शाहीलगायतले वास्तविक कृषकलाई सरकारले उपेक्षा गरेको चर्चा गर्दै झोले कृषकलाई अनुदान दिन नहुनेमा जोड दिनु भएको थियो ।
“पोसिलो आहार, बाख्रापालनमा गुणात्मक सुधार’’ मुल नाराका साथ चौथो राष्ट्रिय बाख्रा दिवसको अवसरमा भानु नगरपालिका –५ स्याउली पसलमा उन्नत तथा स्थानीय बोका प्रदर्शनी र प्रतियोगिता गरिएको थियो । प्रदर्शनीमा बाख्राबाट उत्पादन हुने परिकारको प्रदर्शनी, बाख्राको सुधारिएको मलको प्रदर्शनी गरिएको थियो ।
सम्मान पाउँदा किसान खुसी भएका छन् । स्थानीय बोकातर्फ प्रथम हुनुभएका भानु नगरपालिका –५ पञ्चनगरका चोपकान्त पोख्रेलले सम्मानले उत्साह मिलेको बताउनुभयो । प्रदर्शनीमा भानु नगरपालिकाको १३ वटै वडाका किसानको सहभागिता रहेको भानु नगरपालिकाका कृषि शाखाका प्राविधिक तिलक कट्टेलले जानकारी दिनुभयो ।