• ५ माघ २०८१, शनिबार

अदालत परिसरमा कानुन व्यवसायीमाथि मुक्का हान्नु रास्वपाको असली रुपः बास्कोटा

blog

काठमाडौँ, माघ ५ गते । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अदालत परिसमा नै मुक्का बजारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आफ्नो असली रूप देखाएका बताउनुभएको छ । 

बुधवार काठमाडौँ जिल्ला अदालतमा सो पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा उहाँविरुद्धमा बहस गरेको भन्दै अदालत परिसमा नै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आक्रमण गरेको घटनाको बास्कोटाले निन्दा गर्नुभएको छ । ‘न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माइक टाइसनभन्दा तीन गुणा बलशाली रहेको प्रमाणित भयो’, सामाजिक सञ्जाल फेसबुकमा बास्कोटाले लेख्नुभएको छ । 

लामिछानेका अझै तीनवाटा जिल्लामा सहकारी ठगीका मुद्दा बाँकी नै रहेकाले त्यहाँसम्म चहार्दा कति वकिलका कालो कोट च्यातिने हुन् भन्दै उहाँले प्रश्न गर्नुभएको छ । ‘अझै तीन परिसर चहार्न बाँकी छ जस्तो छ, कति काला कोट धुजाधुजा हुने हुन्, टेलर्स, मिडिया, मेडिकल,मसल, मकै सबै चल्ने भए, बाघ र निलोरंगे स्यालको फरक कहिले छुट्टेला ?’ बास्कोटाले लेख्नुभएको छ । 

सहकारी ठगी मुद्दामा लामिछानेलाई कास्की जिल्ला अदालतले गत बिहीबार ६५ लाख रुपियाँ धरौटीमा छाडेको थियो भने बुधवार मात्र काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपियाँ धरौटीमा छाडेको छ । 

लामिछानेविरुद्ध चितवन जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत र पर्सा जिल्ला अदालतमा पनि त्यहाँका सहकारी ठगी गरेको मुद्दा छ । लामिछानेलगायतले विभिन्न सहकारी ठगी गरेर गोर्खा मिडियामा रकम ल्याई अपचलन गरेका मुद्दा छन् । ती मुद्दा छानबिनको क्रममा लामिछाने ८४ दिन कास्की प्रहरी हिरासतमा बसेका थिए ।