गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ५ गते । सवारी तथा यातायातसम्बन्धी कसुर मुद्दामा अस्वाभाविक दाबी गरेको भन्दै जिल्ला अदालत काठमाडौँले वादी (मुद्दा दर्ता गर्ने) लाई जरिबाना गरेको छ । सवारी मुद्दामा अदालतले वादीलाई ६६ हजार ९७० रुपियाँ जरिबाना गरेको हो । सार्वजनिक सवारीको ठक्करबाट पुगेको क्षतिपूर्तिको मुद्दामा अस्वाभाविक दाबी लिएको भन्दै अदालतले ठहर रकमभन्दा बढी दाबीमा जरिबाना लगाएको हो । अदालती शुल्क (कोर्ट फी) बराबरको जरिबाना अदालतले गरेको हो । अदालती शुल्कपछि दाखिला गर्ने गरी सुविधा लिएकाले जरिबाना भएको हो ।
न्यायाधीश उत्तम सिलुवालको इजलासले फिरादी देवेन्द्र झासमेतलाई क्षतिपूर्ति रकमभन्दा बढी दाबी गरेको रकमको अदालती शुल्क ६६ हजार ९७० रुपियाँ जरिबानासरह असुल गर्न आदेश गरेको हो ।
फैसलामा भनिएको छ, “वादीहरूले अदालती शुल्क पछि दाखिला गर्ने गरी सुविधा लिएको देखिँदा वादीहरूले ठहर भएको क्षतिपूर्ति रकमभन्दा बढी दाबी गरेको रकम ५० लाख ४७ हजार २६ रुपियाँको हुने अदालती शुल्क ६६ हजार ९७० रुपियाँ वादीहरूबाट जरिबानासरह असुल गर्नु भनी तहसिल शाखामा लगत दिनू ।”
सवारी यातायात तथा व्यवस्था ऐनबमोजिम क्षतिपूर्ति दाबी गर्नुपर्नेमा दुष्कृतिको दाबी लिन नमिल्ने प्रतिवादीको जिकिर स्वीकार गर्दै अदालतले यस्तो फैसला गरेको हो । बिल अनुसारको रकम तिर्न तयार रहेकोमा अनावश्यक रकम माग गरेको हुँदा जरिबाना भएको प्रतिवादीका कानुन व्यवसायी अधिवक्ता अनन्तराज लुइटेलले बताउनुभयो ।
लुइटेलले भन्नुभयो, “मुद्दामा आंशिक दाबी मात्र ठहर भएको छ । अस्वाभाविक दाबी लिएकाले अदालतले क्षतिपूर्ति ठहर भएको रकमभन्दा बढीको शुल्कको हकमा अदालती शुल्क बराबर जरिबाना भएको हो ।”
२०७७ फागुन २७ गते बबरमहलमा रिद्धिसिद्धि यातायातको ठक्करबाट स्कुटरचालक देवेन्द्र झा र पुनमकुमारी ठाकुर घाइते हुनुभएको थियो । उहाँहरूले कुल ५१ लाख सात हजार २६ रुपियाँ क्षतिपूर्ति दाबी गर्नुभएको थियो । जसमा उपचार खर्च १२ हजार २९३, दुर्घटनामा क्षति भएको मोबाइल मर्मत खर्च पाँच हजार पाँच सय र घडी मर्मत खर्च दुई हजार रुपियाँ दाबी लिनुभएको थियो । यस्तै ट्याक्सी भाडा पाँच हजार, दुर्घटनामा भाँचिएको दाँत मर्मत गरी कभर लगाउँदाको खर्च पाँच हजार २२० रुपियाँ र सड्केको (डिस्लोकेट) हातको उपचार खर्च र कोरोना महामारीका कारण फिजियोथेरापिस्ट घरैमा बोलाउँदा लागेको ४५ हजार रुपियाँ भराउन माग पनि उहाँहरूले गर्नुभएको थियो ।
अतिरिक्त खर्च १६ हजार पाँच सय, स्कुटर मर्मतमा लागेको १५ हजार ५१२ रुपियाँ, मानसिक पीडाबापत २५ लाख रुपियाँ भराउन पनि वादी दाबी थियो तर अदालतले उपचारमा लागेको खर्च २४ हजार ३८ रुपियाँ, स्कुटर मर्मत खर्च १४ हजार ५१२ रुपियाँ र शारीरिक तथा मानसिक असरसमेत गरी ६० हजार रुपियाँ मात्र क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
ठहर भएकोबाहेक ५० लाख ४७ हजार २६ रुपियाँको हकमा अदालतले अदालती शुल्कमा लाग्ने ६६ हजार ९७० रुपियाँ वादीहरूबाट जरिबानासरह असुल गर्न फैसला गरेको हो ।