• २७ पुस २०८१, शनिबार

फरक अनुभूति (कविता)

blog

मलाई जीवन–

दुःखको अथाह समुद्र लाग्छ

तिमी भन्छौ 

यो खुसीको महासागर हो

मलाई जीवन–

काँडैकाँडाबिचको फूल लाग्छ

तिमी भन्छौ

यो लामो तपस्यापछि प्राप्त 

वरदान हो ।

किन फरक फरक लाग्छ ? 

तिमी र ममा जीवनको परिभाषा

किन फरक लाग्छन् ?

भोगाइका स्वाद

सायद तिमी र ममा फरक छन् धेरै कुरा

घामपानी/अँध्यारो उज्यालो 

सुखदुःख/प्राप्ति अप्राप्ति

सोच, चिन्तन र विचार

भोगाइका परिवेश र परिधि

प्रेमानुभूति

सम्भवतः आत्मसात् गरिरहेका छौँ हामी  

कटु जीवनसत्य

हो, तिमीलाई बिदाइको 

हात हल्लाएर छुट्टिएपछि

अचेल हरेक कुरा फरक भएका छन् 

जीवनको गहिरो नदीका 

दुई किनारा भएका छौँ हामी 

तिमी खुसीवारि छौ/म पीडापारि छु ।   

Author

तारा सुवेदी