गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २७ गते । रोजगारीका लागि युरोपका विभिन्न मुलुकमा पठाइदिने भनी ठगी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा वैतेश्वर–३ का रामकृष्ण दाहाल, ललितपुर–६ का रूपेश महर्जन, सप्तरी विष्णुपुर–७ का कृष्ण यदुवंशी, गोरखाका राजेश बराम, भक्तपुर चाँगुनारायणका शिवा न्यौपाने र मोरङ उर्लाबारीका भूमिका देवान रहेको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारीमा आकर्षक तलबसहित संयुक्त अधिराज्य (युके) पठाइदिन्छु भन्दै दाहालले एक जना पीडितसँग ३१ लाख ५० हजार लिई सम्पर्कविहीन बनेको उजुरी परेको थियो । महर्जनले पोल्यान्ड पठाइदिने प्रलोभनमा पारेर दुई जनासँग जनही एक एक लाख रुपियाँ लिएको आरोप छ । यदुवंशीले पनि पोल्यान्ड पठाइदिने भनी पीडितहरूसँग ७२ लाख ४८ हजार १५० रुपियाँ ठगी गरेको आरोप छ भने बरामले आठ लाख ९० हजार रुपियाँ लिएर फरार भएका थिए । न्यौपानेले छ लाख ठगेको आरोप छ भने देवानले पनि पोल्याण्ड लाने भन्दै ठगेको आरोप छ ।