• २७ पुस २०८१, शनिबार

पाँच महिनामा मूल्यवृद्धि उच्च

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २७ गते । मुलुकको मुद्रास्फीति दर छ प्रतिशतको विन्दुभन्दा माथि लागेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो वर्षको तुलनामा बढेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को २०८१ को मङ्सिरसम्ममा औसत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ । अघिल्लो आव यस्तो मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो ।

राष्ट्र बैङ्कले प्रकाशित गरेको आव २०८१/८२ को पाँच महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ५.०० प्रतिशत र ४.९२ प्रतिशतले वृद्धि भएको थियो ।

वस्तु व्यापार घाटा १.५ प्रतिशतले वृद्धि

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १.५ प्रतिशतले बढेर पाँच खर्ब ८७ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ३.१ प्रतिशतले कमी आएको थियो । अघिल्लो वर्षको सोही अवधिमा निर्यात आयात अनुपात ९.८ प्रतिशत रहेकामा अहिले ११.१ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा कुल वस्तु निर्यात १६.५ प्रतिशतले बढेर ७३ अर्ब ६६ करोड पुगेको छ । जसमा अघिल्लो वर्षको सोही अवधिमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः २३.७ प्रतिशत र ६८.९ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फ भएको निर्यातमा १.२ प्रतिशतले कमी आएको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात ३.० प्रतिशतले बढेर छ खर्ब ६१ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.४ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः ४.० प्रतिशत र ४.६ प्रतिशतले बढेको छ भने अन्य मुलुकको आयातमा १.८ प्रतिशतले कमी आएको छ ।

पाँच महिनामा साढे छ खर्ब रेमिट्यान्स

चालु आवको पाँच महिनामा रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले बढेर छ खर्ब ४० अर्ब ४३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.५ प्रतिशतले बढेर चार अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।

चालु खाता एक खर्ब चालिस अर्बले बचतमा

समीक्षा अवधिमा चालु खाता एक खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ४१ अर्ब तीन करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब छ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब चार करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर तीन अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर दुई अर्ब ८७ करोड रहेको थियो । यसै गरी समीक्षा अवधिमा छ अर्ब तीन करोड प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी आप्रवाह तीन अर्ब ९३ करोड रहेको थियो ।

शोधनान्तर स्थिति दुई खर्ब पच्चिस अर्बले बचतमा

समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १६ अर्ब पाँच करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ६७ करोडले बचतमा रहेको छ । यस्तै गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले बढेर २०८१ मङ्सिर मसान्तमा २२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मङ्सिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ ।