काठमाडौँ, पुस २६ गते। प्रेस सेन्टर नेपाल, काठमाडौँ शाखाले स्थापना गरेको गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार टेकबहादुर रोका (टेनिस) पुरस्कृत हुनुभएको छ।
प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाको तत्कालीन अध्यक्ष शर्माको २०७६ सालमा सडक दुर्घटनामा निधन भएको थियो।
उहाँको नाममा काठमाडौँ शाखाले पुरस्कार स्थापना गरी अधिवेशनमा पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तिलाई प्रदान गर्दै आएको छ।
शाखाको काठमाडौँमा आज सम्पन्न चौथो अधिवेशनमा यस वर्षको स्मृति पुरस्कार रोकालाई प्रदान गरिएको हो। लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रोका हाल नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको अध्यक्ष हुनुहुन्छ।
अधिवेशनले राममणि घिमिरेको नेतृत्वको नयाँ कार्यसमिति समेत चयन गरेको छ।