काठमाडौँ, पुस २५ गते । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रन आग्रह गर्नुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुु)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरूको बैसाखी नटेकी आफैँ दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गर्नुभयो । अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गर्दै सफलताको कामना गर्नुभयो ।
मुलुकको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र स्थापना पहिले गङ्गालाल श्रेष्ठले मानवअधिकारसम्बन्धी पहिलो भाषण र सङ्गठन बनाउनुुभएको र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी आफ्नो पार्टी भएको स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले त्यही बिउ छरेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्ति निर्माणको दिशामा अग्रसर भएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र सङ्घर्षले लोकप्रिय हुने क्षेत्र होइन । यो राम्रो काम गरेर शान्तिपूर्ण रूपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी चुप लागेर बस्दैनौँ । म साथीहरूलाई राम्रो काममा ‘एग्रेसिभ्ली’ लाग्न आग्रह गर्दछु ।” कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग सम्बन्धित पुस्तक पनि विमोचन गर्नुभयो ।
एमालेका महासचिव शङ्कर पोखरेलले भविष्यका कर्णधार विद्यार्थीवर्गको पहिलो रोजाइ अनेरास्ववियु मात्रै हुनसक्ने बताउनुभयो । अनेरास्ववियुका पूर्वअध्यक्ष एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमालेको जनसङ्गठन संयन्त्रका संयोजक भानुुभक्त ढकाल, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताहरूको उपस्थिति थियो । आगामी फागुन १५ गते विश्वविद्यालयहरूमा स्ववियु निर्वाचन हुँदैछ । रासस