• २६ पुस २०८१, शुक्रबार

८४ जेष्ठ नागरिककाे मोतियाबिन्दु शल्यक्रिया

blog

मोतियाबिन्दुको शल्यक्रिया गरेपछि हर्षित हुँदै सामुहिक तस्बिर खिचाउँदै जेष्ठ नागरिकहरू ।

चित्र मिजार

सिन्धुपाल्चोक, पुस २५ गते । मेलम्चीका ८४ जना जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर मोतियाबिन्दु शल्यक्रिया गरिएको छ । ८२ जना मोतियाबिन्दुको अप्ररेसन र २ जनाको आँखामा मासुको शल्यक्रिया गरिएको छ । 

मेलम्चीकी ७५ वर्षीया जेष्ठ नागरिक टक्करकुमारी दुलालले मोतियाबिन्दुको शल्यक्रिया गरेपछि पुन आँखा देखेकोमा अत्यान्तै हर्षित भएको बताउनुभयो । त्यस्तै जेष्ठ नागरिक बिष्णुप्रसाद सापकोटाले शल्यक्रिया पछि पुन संसार देख्न पाएको प्रति खुसीको सीमा नरहेको बताउनुभयो । उहाँहरू जस्तै शल्यक्रिया गरेर पुन दृष्टि प्राप्त गरेकाहरूले पुन देख्न सक्ने भएको अब आफ्ना हेरचाह आफै गर्न सक्ने बताउँछन् । 

मेलम्ची, दुवाचौर, नवलपुर, भिमटारका मोतियाबिन्दु भएका बिरामीहरूलाई शल्यक्रिया गरी पुन आँखा देख्न सक्ने बनाइएको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले जानकारी दिनुभएको छ । शल्यक्रिया गरेका बिरामीहरूका लागि खाना र बस्न सो नगरले निशुल्क प्रबन्ध गरेको थियो । 

तिलगङ्गा आँखा प्रतिष्ठान र तिलगङ्गा सामुदायिक आँखा केन्द्र सहकार्य र मेलम्ची नगरपालिकाको समन्वयमा पुस २२ र २३ गते दुई दिन मेलम्चीमा निःशुल्क आँखा शिविर भएको थियो । डा.प्रतिमा लामा जोशी र डा.रमिता महर्जन नेतृत्वमा मेलम्चीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको थियो । ८० जना मोतियाबिन्दु प्रभावितको शल्यक्रिया गर्ने लक्ष्य भए पनि ८४ जनाको अप्ररेसन गरिएको थियो । मोतियाबिन्दुको शल्यक्रिया पश्चात जेष्ठ नागरिकहरू हिँडेर घर पुगेका छन् ।