मकवानपुर समाचारदाता
हेटौँडा, पुस २४ गते । हेटौँडा उपमहानगरपालिकाले प्रादेशिक कृषि थोक बजारमा बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय राखेकोप्रति आपत्ति जनाएको छ । हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभ-याङमा निर्माणाधीन थोक बजारमा प्रदेश सरकारले उपमहानगरपालिकासँग सहमतिबिना नै मन्त्रालय लगेर राखेपछि उपमहानगरपालिकाले विरोध जनाएको हो । बागमती प्रदेश सरकारले प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको लागत साझेदारीमा निर्माण गरेको प्रादेशिक कृषि थोक बजार हस्तान्तरण नगरेको अवस्थामा नै थोक बजारको प्रशासनिक कक्षमा लगेर मन्त्रालय राखेको छ ।
हेटौँडा उपमहानगरपालिकाको चितवनको सौराहामा भएको गत आर्थिक वर्षको वार्षिक समीक्षा, चालु आवको हालसम्मको प्रगति एवं आगामी आवको कार्यदिशाको सम्बन्धमा जनप्रतिनिधिबिच भएको दुई दिने छलफल कार्यव्रmममा उपमहानगर र प्रदेश सरकारको लागत साझेदारीमा निर्माणाधीन थोक बजारमा मन्त्रालय राखेकोमा आपत्ति जनाइएको छ ।
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले छलफलमा प्रदेश सरकारले थोक बजारमा मन्त्रालय लगेर राखेको प्रति आपत्ति जनाउँदै प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिनुभयो । उहाँले थोक बजार निर्माण अन्तिम चरणमा पुगेको, निर्माण कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको र हस्तान्तरण नभएको अवस्थामा मन्त्रालय राख्नु उपयुक्त नभएको निस्कर्ष निकालिएको बताउनुभयो ।
“मन्त्रालय राख्दा सार्वजनिक रूपमा विरोध भएको छ,” प्रवक्ता न्यौपानेले भन्नुभयो, “कृषकको सहजता र कृषि उपज बजारीकरणका लागि प्रादेशिक कृषि थोक बजार बनाइएको हो, जुन प्रयोजनका लागि निर्माण गरिएको हो, त्यसैका लागि प्रयोग गर्नु उचित हुन्छ ।” उहाँले अगाडि भन्नुभयो, “उपमहानगरपालिकाको समेत लागत साझेदारीमा बनेकाले सहमतिमा अगाडि बढ्नु उपयुक्त हुन्छ, प्रदेश सरकारलाई विवाद नआउने गरी काम गर्न अनुरोध गर्दछौँ ।”
प्रदेशको मन्त्रालय फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएपछि मन्त्रालय राख्ने भवन अभावमा प्रदेशको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माणाधीन भवनमा मन्त्रालय राखिएको हो । प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयको प्रदेश कृषि विकास निर्देशनालय मातहत निर्माणाधीन उक्त थोक बजारमा प्रशासनिक भवन, व्यापारिक भवन, शीतभण्डारलगायतका संरचना निर्माण गरिएको छ ।
दुई बिघा चार धुर जग्गामा निर्माण गरिएको कृषि थोक बजार ३० करोड ८७ लाख ६२ हजार रुपियाँको लागतमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । थोक बजार निर्माण सम्पन्न भएपछि उपमहानगरपालिकालाई सञ्चालनका लागि हस्तान्तरण गर्ने गरी सम्झौता भएको हो । कृषि थोक बजारमा मन्त्रालय बसेकाप्रति बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठलाई ध्यानाकर्षण गराउँदा अहिले बस्दै गर्ने र निर्माण पूरा भएर हस्तान्तरण भएपछि विकल्प खोजिने बताउनुभएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।