काठमाडौं, पुस २२ गते । गत असोज महिनामा आएको बाढीका कारण भत्किएको नख्खु काेरिडोरको बाटो बन्न नसक्दा स्थानीयले सास्ती खेप्नुपरेको छ ।
बाढीले भत्काएको बाटो बनाउन महानगरपालिकाले सामान्य पहल गरे पनि सहज रूपमा हिँड्न सक्ने अवस्थामा छैन । पानी पर्दा हिलो, नपर्दा धुलो उड्ने भएकाले सबै दुःखले सडकको प्रयोग गरिरहेका छन् । धुलो मात्र होइन नख्खु खोलाबाट आउने दुर्गन्धले झनै असर गरेको स्थानीयहरू बताउँछन् ।
बाढीले क्षति गर्नुअघि रोडा, ढुङ्गा र बाटो बोक्ने टिप्परले दुःख दिएको स्थानीयले गुनासो गर्दथे । अहिले पनि टिप्परको आतङ्क जस्तै भएको गुनासो स्थानीयहरूले गर्न थालेका छन् । बाढीले क्षति गरेर जीर्ण बनेको सडकमा धेरै तौल बोक्ने टिप्पर निरन्तर दौडिँदा सडक झनै कमजोर बनेको स्थानीयहरू बताउँछन् ।
सडकबाट हिँड्नै नसक्ने भए पनि बाध्यताले हिँड्नु परिरहेको उनीहरूको गुनासो छ । सरकारले आवश्यक चासो नदिँदा स्थानीयहरूले मार खेपिरहेको उनीहरूको गुनासो छ । सरकारले आइतबारमात्रै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट गत असोजमा काठमाडौं लगायतका क्षेत्रमा आएको बाढी, पहिरोको क्षतिको विस्तृत मूल्याङ्कन(डिडिए) गर्ने निर्णय गरेको छ ।
साथै डिडिए सम्पन्न भइसकेका क्षेत्रहरूमा सरकारले बनाएको मापदण्डअनुसार पुनर्निर्माणको काम तत्काल प्रारम्भ गर्ने निर्णय गरेको छ । यद्यपि कहिलेसम्म पुनर्निर्माण सकिन्छ त्यो भने हेर्न बाँकी छ ।
बाढीले क्षति गरेको स्थानीयको बस्ती, बस्तीसम्म जाने बाटो सबै खराब छ । गत असोजको ११ गते रातिबाट परेको अविरल वर्षापछि आएको बाढीले नख्खु तटीय बस्ती डुबानमा परेको थियो । त्यसबाट खानेपानी, ढल, बिजुलीको पोल र बाटोमा गरेको क्षतिको अझै मर्मतसम्भार हुन सकेको छैन ।