चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २१ गते । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले प्रकाशन गरेको ताप्लेजुङ सञ्चार स्मारिका सार्वजनिक गरिएको छ । ताप्लेजुङको पत्रकारिता क्षेत्रकै एक दस्तावेजका रुपमा प्रकाशित सञ्चार स्मारिका सार्वजनिक गरिएको हो ।
महासङ्घ शाखाको नवनिर्मित कार्यालय भवन उद्घाटन तथा नयाँ कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमको अवसरमा शनिबार पुस्तक सार्वजनिक (विमोचन) गरिएको हो । सञ्चार स्मारिका प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराई, प्रतिनिधिसभा सदस्यद्वय लीलादेवी बोखिम, उर्मिला थेबेलगायतले संयुक्तरुपमा सार्वजनिक गर्नुभएको हो ।
स्मारिकाको सार्वजनिक गर्नुहुँदै प्रतिनिधिसभा सदस्य भट्टराईले ताप्लेजुङको पत्रकारिता क्षेत्रको इतिहास तथा ऐतिहासिक दस्तावेज हुने बताउनुभयो । उहाँले जिल्लाको पत्रकारिता गतिविधि साथै समग्र पत्रकारिता बुझ्नलाई भावी पुस्ताका पत्रकारका लागि स्मारिका एक ऐतिहासिक दस्तावेज बन्नसक्ने बताउनुभयो ।
पत्रकार महासङ्घ जिल्ला शाखाले प्रकाशित गरेको पुस्तकमा शाखा स्थापना कालदेखि हालसम्म भएका गतिविधि समेटिएको आलेख तथा अनुभूति लेखहरु रहेका छन् । विगतदेखि हालसम्म जिल्लामा रहेर पत्रकारितामा आवद्ध २९ जना पत्रकारको विचार र अनुभूति लेखहरु पुस्तकमा समावेश छन् ।
स्मारिकामा जिल्लामा विगतदेखि हालसम्म सञ्चालित विद्युतीय र छापा सञ्चारमाध्यमका विवरण, जिल्लाको पत्रकारिता विकासका लागि गर्न खोजिएका प्रयास, पहल, प्रयत्न र अन्य गतिविधिबारे संक्षिप्त विवरणसमेत समेटिएको छ ।