गोकर्ण दयाल
बैतडी, पुस २१ गते । कुनै बेला सुदूरपश्चिमको बैतडीलगायतका गाउँमा भाङखेती गरेर यसबाट खाने तेल, लत्ताकपडा र आयुर्वेदिक औषधी बन्ने गर्दथ्यो । अहिले यही गाँजा–भाङको प्रयोग लागुऔषध दुर्व्यसनीको कारण बन्न थालेपछि प्रहरीले नस्ट गर्दैआएको छ ।
समाजमा लागुऔषध दुर्व्यसनी बढ्न थालेपछि आइतबार जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सामाजिक विकास कार्यालय बैतडीले लागुऔषध विरुद्धको सचेतना कार्यक्रम गरेको छ । जिल्ला सदरमुकामस्थित विरेन्द्र माविका कक्षा ११ र १२ मा अध्ययनरत छात्र–छात्रालाई लागुऔषध दुर्व्यसनीले गरिरहेको नोक्सानी बारेमा जानकारी गराइएको छ ।
कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी अधिकारी दीर्घराज उपाध्यायले गाउँमा आफै उम्रने गाँजाको बोटको गलत प्रयोग भइरहेको बताउनुभयो । पहिले यसको त्यति धेरै दुरुपयोग नहुने भए पनि अहिलेका युवाहरूको दुर्व्यसनी लाग्ने पहिलो कारण गाँजा बन्न थालेको बताउनुभयो ।
पूर्वीय ज्ञान र सांस्कृतिक आचरणमा कमी आउँदा आयुर्वेदिक औषधीमा प्रयोग हुने गाँजाको बोट–भाङको गलत प्रयोगले लागुऔषध दुर्व्यसनीको रूप लिन थालेको सरोकारवालाले बताएका छन् ।
समाजका युवा वर्गले पछिल्लो समय गाँजा–भाङ मात्र होइन, कडा खालको लागुऔषध हेरोइन र एलोपेथिक औषधीमा प्रयोग हुने विभिन्न क्यापसुल र ट्याबलेट नसाका रूपमा प्रयोग गर्न थालेको प्रहरीको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले यस्तो कुलतमा युवा जनशक्ति फस्न थालेपछि लागुऔषधविरूद्धको महाअभियान नै सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो । उहाँले, बैतडी प्रहरीले लागुऔषधविरुद्ध बस्तीस्तरमै अन्तरक्रिया कार्यक्रम गरी सचेतना फैलाइएको बताउनुभयो ।
सचेतना कार्यक्रममा एलोपेथिक औषधी डाक्टरको सल्लाहअनुसार सेवन गरेमा औषधी हुने, तर त्यसको गलत प्रयोग गरे लागुऔषधका रूपमा काम गर्ने जिल्ला अस्पताल बैतडीको फार्मेसीमा कार्यरत शरद भण्डारीले जानकारी दिनुभयो ।
समाजमा लागुऔषध दुव्र्यसनी बढ्न थालेपछि प्रशासन, प्रहरी र सामाजिक विकास कार्यालयको अगुवाइमा बस्ती, क्याम्पस र विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी निरीक्षक मकेन्द्र मिश्रले बताउनुभयो ।
प्रदेश सरकारबाट विद्यालय र क्याम्पस स्तरमा लागुऔषधविरुद्धको सचेतना जगाउन सामाजिक विकास कार्यालयमा कार्यक्रम आएकाले सरोकारवालासँग यस विषयमा अन्तरक्रिया गरी युवा जनशक्तिलाई सही मार्गमा लाग्न अभिप्रेरित गरिएको सामाजिक विकास कार्यालय, बैतडीका प्रमुख शङ्करदत्त जोशीले बताउनुभयो ।