• १० पुस २०८१, बुधबार

धार्मिक स्वतन्त्रतालाई सम्मान गर्दै अगाडि बढ्नुपर्नेः प्रदेश प्रमुख

blog

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ।

राममणि दाहाल
हेटौँडा, पुस १० गते ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले धार्मिक स्वतन्त्रतालाई सम्मान गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । क्रिश्चियन धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसको उपलक्ष्यमा बुधबार क्रिश्चियन धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै उहाँले हाम्रो देश धार्मिक सहिष्णुता संसारमै उदाहरणीय रूपमा रहेको बताउनुभएको छ ।

हरेक वर्ष डिसेम्बर २५ लाई ईसाई धर्मका अनुयायीहरू येशु ख्रिष्टको जन्मदिनको रूपमा मनाउने गरेको भन्दै शुभकामना सन्देशमा भन्नुभएको छ, क्रिसमसको समयमा गीर्जाघरमा प्रार्थना गर्ने, घर सजावट गर्ने, उपहार आदानप्रदान गर्ने, साङ्गितिक कार्यक्रम गर्ने अनि परिवार साथीसङ्गी भेला भएर शुभकामना बाँडेर र खानपिन गरेर रमाइलो र हर्षोल्लासका साथ मनाइन्छ ।

शुभकामना सन्देशमा प्रदेश प्रमुख देवकोटाले अगाडि भन्नुभएको छ, हाम्रो देश धर्म निरपेक्ष देश हो। सबै धर्मलाई राज्यले एकै समानले हेरेको छ । हामी एक अर्काका धार्मिक स्वतन्त्रतालाई सम्मान गर्दै सभ्य र सुन्दर समाज निर्माणको दिशामा अझै अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले शुभकामना सन्देश हाम्रा चाडपर्वहरूले यिनै विशेषतालाई अङ्गिकार गरेको उल्लेख गर्नुभएको छ ।
साथै उहाँले सबैमा क्रिसमसले नयाँ उर्जा र उमङ्ग ल्याउने अपेक्षासहित  शुभकामना व्यक्त गर्नुभएको छ ।