शालिग्राम नेपाल
चितवन, पुस १० गते । पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पूर्वाधार विकास नहुँदा चितवन आउने पर्यटकको बसाइ लम्बिन सकेको छैन ।
जङ्गल सफारीबाहेक आकर्षित गर्ने अन्य पर्यटकीय पूर्वाधार निर्माण नहुँदा अन्यत्र बसाइ लम्बिन थालेपछि त्यसको प्रभाव चितवनमा परेको छ ।
चितवन आसपासका जिल्ला र पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास भएर नयाँ गन्तव्य थपिँदै जाँदा यहाँ भने पुरानै जङ्गल सफारीले मात्र धानेको छ । निकुञ्जभित्रको जनावर हेर्न र जङ्गल अवलोकन गर्न आउने पर्यटकबाट विकास भएको यहाँको पर्यटन क्षेत्रमा अहिलेसम्म त्यसैलाई मुख्य आधार बनाएर आकर्षित पार्ने गरिएको छ ।
छिमेकी क्षेत्र पोखरा र लुम्बिनीले नयाँ फड्को मार्दा चितवनमा भने नयाँ गन्तव्य निर्माणमा निजी क्षेत्रको ध्यान जान नसकेको पर्यटनविज्ञ डा. विश्व सुवेदी बताउनुहुन्छ । “पर्यटनको क्षेत्रमा सरकारको मात्र भर परेर हुँदैन निजी क्षेत्रले पनि पूर्वाधार निर्माण गर्नु पर्छ,” उहाँले भन्नुभयो, “बर्सौंदेखि जङ्गल सफारीबाहेक अन्य महत्वपूर्ण पर्यटकीय गन्तव्य छैन ।”
धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र भए पनि तर पर्यटन व्यवसायीबाट नयाँ पूर्वाधारमा ध्यान नदिएका कारण चितवन आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन नसकेको सुवेदीको दाबी छ ।
नेपालको दोस्रो पर्यटकीय गन्तव्य पोखरामा भने २० वर्षयता निजी क्षेत्रबाट पर्यटकीय क्षेत्रमा ठुलो लगानी गरेर नयाँ गन्तव्य निर्माण भएको छ । साहसिक खेल अन्तर्गत दुई वटा बन्जीजम्प, एबिटी राइड (मरुभूमिमा खेलिने मोटरसाइकल सफारी जस्तै), प्याराग्लाइडिङमा विकास, साराङकोट केबलकार, पुम्दीकोटको विकासलगायतका क्षेत्रमा निजीले लगानी गरी नयाँ गन्तव्य विकास भएको छ । यसले थप पर्यटक भित्र्याउन सहयोग पुगेको पोखरा पर्यटन विकास परिषद्का सदस्य जीवनाथ सापकोटाले जानकारी दिनुभयो ।
चितवनको सौराहा, पश्चिम चितवनको मेघौली, जगतपुर क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा विकास भएका छन् तर त्यहाँ पनि नयाँ पूर्वाधार केही छैन । भएका होटेलको एउटै उद्देश्य चितवन निकुञ्ज सफारी गरेर पर्यटक आकर्षित गर्ने मात्र छ । यसबाहेक यहाँ ठुला कुनै कार्यक्रम नै छैन । नयाँ पर्यटकीय क्षेत्र थपिएका साना पूर्वाधारमा भने जगतपुरमा निर्माण भएको अम्रेला स्ट्रिट, स्टोन पार्क, सौराहाको सेमिनार हल, नारायणी नदीमा सञ्चालनमा आएको क्रुज सिपबाहेक अन्य ठुला गन्तव्य नरहेको पर्यटनविज्ञ सुवेदीले बताउनुभयो ।
नयाँ गन्तव्य निर्माणमा ध्यान नदिने हो भने हात्ती चढ्न मात्र आउनेको सङ्ख्या घटेर यहाँको पर्यटकीय क्षेत्रमा चुनौती थपिन सक्ने पर्यटन व्यवसायी दिनेशकुमार चुकेले बताउनुभयो । उहाँका अनुसार चितवनबाहेकका जिल्लाले धेरै फड्को मार्दा चितवनमा सफारी मात्र भनेर बस्न हुँदैन । आएका पर्यटकलाई अन्य क्षेत्रमा पनि जाने वातावरण निर्माण गरे बसाइ लम्बिन सक्छ ।
प्रदेश सरकारको सहयोगमा रुखमा पुल हालेर जङ्गली जनावर हेर्न मिल्ने क्यानोपी निर्माणको प्रक्रिया अगाडि बढे पनि विभिन्न कारणले काम गर्न नसकिएको बाघमारा मध्यवर्ती वन समितिका अध्यक्ष जितु तामाङले बताउनुभयो । बागमती प्रदेश सरकारले निर्माणका लागि दुई करोड ५० लाख रुपियाँ दिने भएको छ तर निर्माण हुन सकेको छैन । आवश्यक पर्ने १० करोड रुपियाँ हो । निर्माण गर्दै जाँदा पछि दिने गरी अहिले दुई करोड ५० लाख रुपियाँ विनियोजन भएको अध्यक्ष तामाङले बताउनुभयो ।
हात्ती र जिप चढेर जङ्गल घुम्नेबाहेक थारूको संस्कृति हेर्न सकिन्छ । यहाँका खोला नदीमा डुङ्गा सफारी गर्न सकिन्छ । अन्य गन्तव्य भने छैनन् । क्यानोपी निर्माण गर्न सके माथिबाट जनावर हेर्न पाइने हुँदा नयाँ गन्तव्य बन्न सक्छ तर निर्माण गर्न विभिन्न कारणले नसकिएको अध्यक्ष तामाङले बताउनुभयो । चितवनको पर्यटन भनेकै सफारी भएकाले यसमा हामीले गौरव गर्नुपर्ने क्षत्रीय होटेल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले बताउनुभयो । “संरक्षण र वन्यजन्तुलाई नै प्रचार गरेर यसैबाट हामीले पर्यटक भित्र्याउनु पर्छ । अन्य गन्तव्य निर्माण गर्दै लैजाने तर प्राथमिकता सफारीलाई नै दिनु पर्छ,” उहाँले भन्नुभयो ।
चालु आवको पाँच महिनामा ७२ हजार ४६१ जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरेका छन् । गत आवमा निकुञ्ज प्रवेश गर्नेको सङख्या दुई लाख ९९ हजार ४१२ जना भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो ।