• १० पुस २०८१, बुधबार

सुस्तायो हिमाली पर्यटन

blog

हिमालमा हिउँको प्रतीक्षा : पोखरा विमानस्थल परिसरबाट देखिएको माछापुच्छ्रे हिमाल । जलवायु परिवर्तनको असरका कारण हिमालहरू काला पत्थरमा परिणत हुँदै गएका छन् । तस्बिर : अर्जुन काफ्ले/स्याङ्जा

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १० गते । चिसो बढेसँगै विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रलगायतका उच्च हिमाली क्षेत्र सुनसान बन्दै गएका छन् । चिसो छल्न उच्च हिमाली क्षेत्र छाड्ने पर्यटक र स्थानीय बढेसँगै अहिले लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान सेवा पातलिएको छ भने सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या घट्दै गएको छ । 

केही समयअघिसम्म पर्यटकले खचाखच भरिएका खुम्बु क्षेत्रका होटल हिमपात सुरु हुनुअघि नै बन्द हुन थालेका छन् । हिमाल हिउँले ढाक्नुअघि र तल्लो हिमाली भेगमा हिमपात सुरु हुनुअघिको समयले हिमाल दृश्यावलोकनका लागि उपयुक्त समय मानिन्छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रवक्ता विवेक बाइवुले भन्नुभयो, “चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्रमा प्रवेश गर्ने आन्तरिक र बाह्य पर्यटक घट्दै गएका छन् । हिमपातको सम्भावनाले माथिल्लो भेगका स्थानीय पनि काठमाडौँ, पोखरा, सोलुतिर जाने क्रम बढेको छ ।”

यो वर्षको मङ्सिर महिनामा ७२१ स्वदेशी, ३४२ सार्क राष्ट्रबाट र तीन हजार ३१३ विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवं थामेलगायतका बासिन्दाले पर्यटन मौसम सकिनासाथ मङ्सिरमै खुम्बु छाड्न थालेपछि अहिले उपल्लो भेग जाने पर्यटक भेट्न मुस्किल रहेको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षको साउनमा १२५, भदौमा एक हजार ३३१, असोजमा आठ हजार ९०२, कात्तिकमा १२ हजार र मङ्सिरमा चार हजार तीन सय आन्तरिक र बाह्य पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको उहाँले जानकारी दिनुभयो ।  तेन्जिङ हिलारी विमानस्थल कार्यालयका अनुसार पर्यटकीय याममा दैनिक एक हजारको हाराहारीमा पर्यटक भित्रिने गरेको लुक्लाबाट अहिले भित्रिनेभन्दा बाहिरिने यात्रु बढी छन् ।

विमानस्थलका एटिसी दिवस दाहालका अनुसार लुक्लामा जहाज र हेलिकोप्टर गरेर २५ जति उडान अवतरण भइरहेका छन् ।

उहाँले भन्नुभयो, “यस क्षेत्रका नागरिकको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले चिसो बढेसँगै व्यवसायी आगामी फागुनमा फर्किने गरी सगरमाथा क्षेत्रबाट बाहिरिने क्रम जारी रहेको छ । अहिले भित्रिने उडानभन्दा फर्किने उडानमा मात्रै सवारी हुने गरेका छन् ।” उहाँका अनुसार मुख्य याममा दैनिक अढाई सय हाराहारीमा हवाई उडान हुँदै आएको लुक्लामा अहिले यात्रु घटेसँगै हेलिकोप्टर र जहाजले उडानसमेत घट्दै गएको उहाँले बताउनुभयो । मङ्सिर १ गते ३३५, २ गते ५६६, ३ गते ३९२, ४ गते ३१८, ५ गते २०२, ६ गते ३५७ र ७ गते ३३२ यात्रुले लुक्लाबाट हवाई सेवा लिएको उहाँले जानकारी दिनुभयो । हवाई यात्रा गर्नेमध्ये अधिकांश लुक्लाबाट फर्किने रहेका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का निमित्त प्रमुख बाबुराम थिरुवाका अनुसार चिसो बढेसँगै मनाङ र माथिल्लो मुस्ताङलगायतका क्षेत्रबाट स्थानीय फर्किने क्रम जारी रहेको छ भने पर्यटकको चहलपहलसमेत घट्दै गएको छ ।