• ७ पुस २०८१, आइतबार

सम्पदा संरक्षणमा सहकार्य आवश्यक

blog

बनेपा समाचारदाता

बनेपा, पुस ७ गते  ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि तिनै तहका सरकारबिच सहकार्य र समन्वय हुनुपर्ने बताउनुभएको छ । 

काभ्रेली सक्रिय महिला सङ्गठन पनौतीले सुरु गरेको पनौतीको त्रिवेणी सरसफाइ अभियानको तीन सय हप्ताको कार्यक्रममा सहभागी हुुन शनिबार पनौती आएका मन्त्री पाण्डेले पुरातात्विक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्ने बताउनुभएको हो । 

“नेपाल सांस्कृतिक हिसाबले विविधतापूर्ण छ, मन्दिरहरू हाम्रो सभ्यता, संस्कृतिका परिचायक हुन्, विविध संस्कृतिले हामी धनी छौँ । संस्कृतिसँग जोडिएका सम्पदाको रक्षा एवं प्रवर्धन गर्न सरसफाइ आवश्यक हुन्छ,” मन्त्री पाण्डेले भन्नुभयो । उहाँले बाढीपहिरोबाट सम्पदामा भएको क्षतिको पुनर्निर्माणका लागि पनि तिनै तहका सरकारबिच समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले बागमती सरसफाइ महाअभियानपछि नागरिकमा सरसफाइसम्बन्धी जनचेतना फैलिई देशका विभिन्न स्थानमा सरसफाइ अभियान सञ्चालन भएको बताउनुभयो । 

काभ्रेली सव्रिmय महिला सङ्गठन पनौतीले २०७५ सालदेखि पनौतीको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक क्षेत्र त्रिवेणीघाटमा हरेक शनिबार सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको हो । सङ्गठनकी अध्यक्ष तथा सरसफाइ अभियानकी संयोजक सुमित्रा आचार्य बन्जाराले बागमती सरसफाइ महाअभियानबाट प्रेरित भई पनौतीको त्रिवेणी सरसफाइ अभियान सुरु गरिएको बताउनुभयो । 

तीन सय हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, प्रदेश सभा सदस्यद्वय कञ्चनचन्द्र बादे र तीर्थ लामा, जिल्ला समन्वय प्रमुख दीपकुमार गौतम, नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारालगायतको उपस्थिति थियो ।