• ५ पुस २०८१, शुक्रबार

संविधान संशोधन राष्ट्रिय सहमतिमा हुन्छ : नेता गौतम

blog

नेकपा (एमाले) का नेता तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम सिन्धुलीमा । तस्बिरः बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, पुस ४ गते । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधान संसोधन राष्ट्रिय सहमतिमा हुने बताउनुभएको छ ।

जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा विहीबार प्रेस चौतारी नेपाल सिन्धुलीले गरेको पत्रकार घेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेकपा (माओवादी केन्द्र) को समेत सहमति जुटाई राष्ट्रिय सहमतिमा संविधान संसोधन हुने उहाँको भनाइ छ । उहाँ नेकपा (एमाले) को दुधौलीमा बिहीबारदेखि हुने चौथो जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्न सिन्धुली आइपुग्नु भएको हो ।

संविधान संशोधन नेपाली काँग्रेस र नेकपा (एमाले) ले मात्र चाहेर नहुने चर्चा गर्दै उहाँले त्यसका लागि माओवादी केन्द्रसहित सबैको साझा सहयोग चाहिने बताउनुभयो । प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो, ‘प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयमा समेत बहस हुन थालेको र सबैको साझा धारणा बनाएर संविधान संशोधन गरिनेछ ।’

अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने र स्थायी सरकार निर्माणका लागि पनि संविधान संशोधन गरेर अहिलेको निर्वाचन प्रणालीलाई सुधार ल्याउनु पर्ने उहाँको भनाइ छ ।

संविधान संसोधनका लागि दुबै सदनमा आवश्यक बहुमत पुगेपछि मात्रै प्रक्रिया अघि बढ्ने र त्यसका लागि केही समय कुर्नुको बिकल्प नभएको प्रचार विभाग प्रमुख गौतमले स्पष्ट पार्नुभयो । अहिलेको गठबन्धन सरकार २०८४ सालको निर्बाचनसम्म टिक्ने उहाँले बताउनुभयो ।