• १० पुस २०८१, बुधबार

लोपोन्मुख रत्यौली

blog

नेपाल बहुधर्म र संस्कृतिले भरिपूर्ण देश हो । यहाँ हरेक जाति र जनजातिका आआफ्नै धर्म, संस्कृति र रीतिरिवाज यथेष्ट मात्रामा छन् । हालैका दशकमा बढ्दो सहरीकरण, पाश्चात्य संस्कृतिको अन्ध अवलम्बन र वैदेशिक पलायनले गर्दा यस्ता कतिपय सांस्कृतिक क्रियाकलाप लोपोन्मुख अवस्थामा पुगेका छन् । नेपालमा मात्र होइन, नेपालीभाषीको बाहुल्य रहेको भारत र भुटानका कतिपय स्थानमा यस्ता सांस्कृतिक परम्परा आज पनि विद्यमान छन् । यो प्रसङ्गमा भने विवाहका अवसरमा दुलहाका घरमा आयोजना गरिने मनोरञ्जनात्मक सांस्कृतिक प्रचलन रत्यौलीका बारेमा छोटो चर्चा गरिएको छ । 

आजभन्दा आधा दशकअगाडिसम्म प्रायः विवाह रातिको लगनमा हुन्थ्यो । यसको कारण यातायातको असुविधाले गर्दा घरबाट दुलहा अन्माएर दुलहीको घर गर्ई त्यहाँको सम्पूर्ण वैवाहिक कार्य सकेर पुनः दुलही भित्र्याउन घर आइपुग्न समय लाग्ने भएकैले हुन सक्छ । यसो भएपछि दुलहा पक्ष राति दुलहीका घरमै बस्थे । प्रायः पुराना जमानामा जन्तीमा पुरुषहरू मात्र जान्थे र दुलहाको घर तथा उसका घरगाउँले महिला रातभरि दुलहाको घरमा बसेर ठट्यौला, रमाइला र मनोरञ्जनात्मक नाट्य र नृत्यका प्रस्तुतिहरू गर्थे । मूलतः यिनै रमाइला वैवाहिक प्रस्तुतिलाई ‘रत्यौली’, ‘रतेउली’ वा ‘रतेली’ भन्ने गरिएको पाइन्छ । 

विवाहका अवसरमा दुलही लिन गएको अवस्थामा दुलहाका घरमा प्रायः नारीहरू मात्र रहेका बेला उन्मुक्त भएर गरिने गायन, नृत्य र अभिनयात्मक प्रस्तुतिलाई नै रत्यौली लोकनाटक भनिन्छ । पुरुषहरू रत्यौलीमा सहभागी भए उनीहरूको आयु घट्छ भन्ने पनि हाम्रो लोकमान्यता रहिआएको छ । आजभोलि जस्तो दिनको विवाह नभएर पहिला पहिला रातिको लगनमा विवाह हुने हुँदा दुलहाको घरमा प्रायः रातभरि रत्यौली खेलिन्थ्यो । रत्यौलीमा महिलाले पुरुषको भेष धारण गरी लोग्नेस्वास्नीको अभिनय गर्दै विभिन्न किसिमका हँस्यौली अभिनयसहित प्रस्तुत गरिन्छ । आलिङ्गन, चुम्बन तथा सुहागरातको समेत अभिनय गरिने भएकाले कतिपय अवस्थामा रत्यौली लोकनाटक अश्लील जस्तो पनि लाग्छ ।

प्रायः महिला मात्र जम्मा भई रत्यौली खेल खेलिन्छ तर कतिपय स्थानमा किशोर पनि भेला भएका देखिन्छन् तर उनीहरू केवल दर्शकका रूपमा मात्र उपस्थित भएको पाइन्छ । आजभोलि सार्वजनिक पार्टी प्यालेसहरूमा पनि रत्यौली भनेर नाचगान गरिएको पाइएको छ तर त्यहाँ रत्यौलीको परम्परागत पहिचान गुमेको हुन्छ । यो केवल रमाइलोका लागि मात्र गरिने कार्य हो, जसमा रत्यौलीको मूल मर्म हुँदैन । यस्तो कार्यक्रम अचेल विवाह दिउँसोको लगनमा भएकाले दिउँसो पनि आयोजना भएको हुन्छ तर त्यो छोटो समयमा मात्र क्षणिक रमाइलोका लागि मात्र हुन सक्छ । मूलतः परम्परागत रत्यौली दुलहा घरको आँगन वा नजिकैको फराकिलो स्थानमा आयोजना गर्ने गरिन्छ । महिलाले पुरुषको भेष धारण गरी नवविवाहित श्रीमान्श्रीमतीको अभिनय गर्नु रत्यौलीको मूल विशेषता हो । नृत्य, गायन र अभिनयसहितको प्रस्तुति, ठट्यौली, नाट्याभिनयका लोकप्रस्तुति रत्यौलीका चलनचल्तीका कर्म हुन् । महिलाले दौरासुरुवाल, ढाकाटोपी, कम्मरमा खुकुरी र कालो चस्मा लगाई रत्यौली गाउँदा त्यहाँको रौनक नै अविस्मरणीय हुन्छ । 

मूलतः परम्परागत रत्यौली तीन भागमा सिर्जना गरिएको हुन्छ । पहिलो चरणमा दुलहा पक्ष दुलही लिन दुलहीको घरमा गएको परिवेशको रमाइलो चित्रण गर्दै अभिनयसहितको प्रस्तुति हुन्छ । बेहुला सिँगार्ने परिघटनासमेत यो चरणमा समावेश हुन्छ । यो अवस्थामा वैवाहिक कार्यक्रमका ससाना झलकहरू गीत तथा अभिनयात्मक शैलीमा प्रस्तुत गरिन्छ । बेहुला अन्माउने परिवेशका प्रस्तुतिहरू पनि यो चरणमा प्रस्तुत हुन्छन् भने जब दुलहीलाई उसका माइतीले अन्माएपछिको अवस्था दोस्रो चरणमा समेटिन्छ । भित्रिएकी बेहुलीले सासूससुरालाई गर्ने व्यवहार, कमीकमजोरी तथा अवस्था अनुसार उदाहरणसहितका बिलौनाहरू पनि यो चरणमा समेटिन्छन् । दुलहाले दुलहीलाई आफ्नो घरमा ल्याउँदासम्म र दुलही घरमा भित्र्याउँदा गरिने विधिविधान पनि दोस्रो चरणमा अभिनयसहित प्रस्तुत गरिन्छ । यो रत्यौली लोकनाटकको मध्यभाग हो । यो अवस्थामा दुलहादुलहीका बिचमा हुने प्रेमालापका केही छिल्लिएका नाट्य प्रस्तुतिहरू पनि समेटिन्छन् । ससुराली घर र आफ्नो घरबिचको सम्बन्ध विस्तार, विवाहपछि दुलहीले निर्वाह गर्नुपर्ने कर्तव्य तथा दुलहाको जिम्मेवारी आदिको वर्णन पनि बडो रमाइलोसित गरिन्छ । अन्त्यमा नवविवाहित जोडीलाई शुभ आशीर्वचन प्रदान गर्ने शैलीयुक्त प्रस्तुतिपछि रत्यौलीको समापन हुन्छ । अन्तिम चरण पूर्ण रूपमा श्लील र मर्यादित हुन्छ । वैवाहिक जीवन ऊर्जाशील बनोस्, सन्तानको यश र कीर्ति फैलियोस् र परिवारमा सदा सुखशान्ति छाओस् भन्ने अभिप्रायका प्रस्तुति रत्यौलीको अन्त्यमा गरिन्छन् । 

हाम्रो मौलिक परम्परा रहेको रत्यौली आज पूर्णतः लोपोन्मुख अवस्थामा छ । बचेखुचेका रत्यौलीसँग सम्बन्धित गतिविधि पनि केवल खानपान र भद्दा मजाकका रूपमा देखिन थालेका छन् । मौलिक पर्व तिजको परम्परा आज आडम्बर प्रदर्शन गर्ने अवसर भएजस्तै रत्यौलीका बाछिटाले पनि आजको तिजका गतिविधिलाई नै पछ्याउँदै गएको देखिन्छ । दुलहादुलहीको पारिवारिक अवस्थाको चित्रण पनि वास्तविक रत्यौलीमा हुन्छ भने रमाइला भाखामा मानव जीवनका दैनन्दिनका परिघटना समेटिएको पाइन्छ ।  नेपालका सुदूरगाउँहरूमा बेहुला अन्माएपछि महिलाहरू मादल र छ्याली बजाउँदै मुजुराको तालमा नाचेको दृश्य अब इतिहास भइसकेको छ । दुईदिने विवाह प्रणाली नै रत्यौलीको स्वर्णयुग थियो भन्न सकिन्छ भने रातको प्रहर अनुसार रत्यौलीका चरण र भाखा पनि फेरिँदै जान्छन् । जब महिलाहरू पुरुषको भेष धारण गरी सुहागरातको अभिनय गर्छन्, त्यो रत्यौली लोकनाटकको चरम सीमा हो भन्न सकिन्छ । यसबेलामा कतिपय अवस्थामा अश्लील हाउभाउ पनि प्रदर्शन हुन सक्छ । लाहुरे तथा जोगी भनिने पुरुष बनेका महिलाले गर्ने नाट्य अभिनय औधी रमाइलो र मनोरञ्जक हुन्छ । यौवनका चिह्नहरू चढ्दै गएका युवतीहरूले उन्मुक्त वातावरणमा हँसिमजाकयुक्त नृत्यहरू अभिनयसहित प्रस्तुत गर्ने रत्यौली औधी मनमोहक हुन्थ्यो । 

दुलही बुहारी बनिसकेपछि उसले निर्वाह गर्नुपर्ने भूमिका रत्यौलीको अर्को सार्थक पक्ष हो । अर्को रमाइलो पक्ष के पनि छ भने बिहान हुन थाल्दा रत्यौलीमा भाग लिने पात्रहरू विवाहघरका सबैलाई आशिष दिई बिदा भए पनि भरे बेहुली भित्र्याउँदा पुन आई बेहुलीको स्वागत गर्छन् । यो हाम्रो संस्कृतिको अत्यन्त सार्थक पक्ष हो तर अचेल यो परम्परा हराइसकेको छ । 

दुलहा अन्माएपछि बलेको बत्ती दुलही भित्र्याउन्जेलसम्म निभ्नु हुँदैन भन्ने हाम्रो लोकविश्वास छ । यही विश्वासलाई साकार पार्न अर्थात् दुईदिने विवाहमा रातभर कोही पनि ननिदाऊन्, जसले गर्दा बत्ती ननिभोस् भन्ने मनसायले रत्यौली लोकनाटक प्रादुर्भाव भएको मान्न सकिन्छ । रातमा गरिने कर्म भएकाले नै यो रत्यौली भएको मान्यता लोकसंस्कृतिविद् डा. कुसुमाकर न्यौपानेको रहेको छ । महिला मात्रको उपस्थितिका कारण त्यहाँ जस्तासुकै प्रस्तुति गर्न कुनै बन्देज तथा सङ्कोच नहुने भएकाले महिलाहरू निस्फिक्री रत्यौली गाउँछन् । मध्यरातको खानपिनको व्यवस्थापन पनि दुलहाको घरले गरेको हुन्छ । दुलहाको घरमा बलेको बत्ती निभ्यो भने अपसकुन आउँछ र यो अवस्था आउन नदिन रत्यौली नाचिन्छ । नवविवाहित जोडीको दाम्पत्य जीवन सफल रहोस् भन्ने अर्थमा पनि रत्यौलीको प्रयोग हुन्छ । मादल र अन्य वाद्यवादनका सामग्री नभएका खण्डमा घरमा भएका गाग्री, थाल र बटुकाहरू ठटाएर भए पनि झर्रा गीतमा अभिनय गर्दै रमाउने परम्परालाई डिजिटल रूपमा मात्र पनि जोगाउन सके भावी पुस्तालाई इतिहास बुझ्न निकै सरल हुन्थ्यो भन्न सकिन्छ ।           

Author

कमल सुवेदी