• ९ पुस २०८१, मङ्गलबार

काँग्रेस कोषाध्यक्षमा श्रेष्ठको नाम अनुमोदन

blog

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत ।

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर २४ गते । सत्तारुढ दल नेपाली काँग्रेसले पार्टी केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्षमा अनुमोदन गरेको छ । सोमवार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवाद्वारा मनोनीत श्रेष्ठलाई कोषाध्यक्षमा बहुमतले अनुमोदन गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । 

बैठकले गण्डकी प्रदेश सभा सदस्य विमला गौतमको निधनपछि रिक्त प्रदेश सभा सदस्य पदमा निर्वाचन आयोगको निर्देशनअनुसार स्याङ्जाकी सुनीता थापालाई प्रस्ताव गरेर पठाउने विषय पनि अनुमोदन गरेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार पार्टीका भ्रातृ सङ्गठनहरुको अधिवेशन अगामी चैतभित्र सम्पन्न गर्न निर्देशन दिएकोमा तरुण दल र किसान सङ्घको परिमार्जित विधानलाई समेत पास गर्ने निर्णय भएको छ । उहाँले बैठकमा बिआरआई परियोजनाबारे पनि छलफल भएको बताउनुभयो । उहाँले पार्टीले बिआरआई अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने निर्णयमा अडिग रहेको बताउनुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदानसमेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने पहिलादेखिकै अडानमा पार्टी कायम रहेको बताउनुभयो ।

बिआरआईको फ्रेमवर्क समझदारीमा हाम्रो राष्ट्रिय आवश्यकता हित र अनुकूलताका विषयवस्तुलाई मात्रै समावेश गर्ने गरेर त्यो विषयवस्तुहरु अगाडि बढ्यो । तर त्यसमा ग्राण्ड फाइनान्सिङ नभएर एड फाइनान्सिङ आयो भन्ने विषयवस्तुको सार्वजनिक रुपमा चर्चा भएको छ । त्यो फाइनान्सिङमा ग्राण्ड स्वाभाविक रुपमा पर्ने भइहाल्यो । अब आउने परियोजनाका सूचीहरुमा सम्झौता गर्दा अनुदानका आधारमा मात्रै सम्झौता गर्ने उहाँले बताउनुभयो ।