चित्र मिजार
सिन्धुपाल्चोक, मङ्सिर २३ गते । त्रिपुरासुन्दरी गाउँपालिका–३ र ६ जोड्ने मोटरेबल पुल सञ्चालनमा आएको छ । उक्त पुलको पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएको छ ।
दर्जनौ गाउँवासीको मोटरेबल पुलबाट आउजाउ गर्ने सपना पूरा भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिनुभयो । २२ मिटर लम्बाईको सिंगल स्पानको पुल सञ्चालनमा आएपछि धुस्कुन, पिस्कर, चोकटी, तौथली, टेकानपुर सिधै सडक सम्बन्ध जोडिएको छ ।
२०७१ सालमा जुरेपहिरो गएपछि महिनौसम्म अरनिको यातयात सञ्चालनमा आउन सकेको थिएन् । त्यसबेला सुनकोशी–धुस्कुन–दाबी–टेकानपुर–झोलुङ्गे सडकलाई अरनिको यातयातका लागि वैकल्पिक सडकमार्ग बनाइएको थियो । अहिलेपनि जुरेखण्ड सडक अवरुद्ध भएमा सोही सडक प्रयोग हुने गरेको छ ।
करिब दुई वर्ष अवधि लगाएर भगवती इप्फात जेभी भक्तपुरले पुल निर्माण गरेको हो । त्रिपुरासुन्दरी गापाका प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाइबाकानुसार चार करोड ४९ लाख नौ हजार ४२९ रुपियाँ ३४ पैसा बजेटमा २०७९ फागुनमा सम्झौता भई निर्माण सुरु भएको थियो । पुल सञ्चालनमा आएपछि अहिले दर्जनौ गाउँका स्थानीयहरु सोही पुल हुँदै आवतजावत हुन थालेका छन् ।
पुल बनेपछि घण्टौ समय लगाएर बाह्रबिसे पुगेर राजधानी र अन्यत्र जानु पर्ने समस्या हटेको स्थानीय तथा नेपाली कांगे्रस इकाई सभापति रामकुमार तामाङले खुशी व्यक्त गर्नुभयो । नयाँ मोटरेबल पुलबाट यातयातका साधान आउजाउ गर्न थालेपछि गाउँघरमा कृषकले उत्पादन गरेका कृषि सामग्री राजधानी, धुलिखेल, बनेपा, स्थानीय बजार सहज पुग्न थालेको तामाङले बताउनुभयो ।
पिस्कर, धुस्कुन, तौथलीलगायत विकट स्थानमा पुग्न बाह्रबिसे वा लामोसाँघु घुमेर जानु पर्ने बाध्यता थियो । तर दाबीखोलामा मोटरेबल पुल निर्माण भई सञ्चालनमा आएपछि सिधै उक्त क्षेत्रमा पुग्न सकिने उहाँले जानकारी दिनुभएको छ ।