मनमौजी लेखनको बेहद शैली निबन्ध हो । यसमा निजत्वदेखि विश्वत्वसम्मको फैलावट घुसेको हुन्छ । लेखकले जस्तो अनुभूत गर्छ, त्यसैको लेख्य बयान निबन्ध हो । लेखकको मन, भावना, अनुभूतिसँग मानवीयता, प्राणीजगत्सँगको सहअस्तित्व, जीवनचक्रसँग अभिन्न पर्यापर्यावरण आदि इत्यादिको बयान यसमा रहन्छ । जीवन इतरका विषयलाई जीवन्त तुल्याएर पस्किने विज्ञानसम्मत विषयहरू हुन्छन् । काल्पनिकीसँग विज्ञान भेट्ने प्रयास अतिशयोक्ति पनि होइन । गणितको अङ्कसँग जीवनले मेल खाँदैन तर पनि मान्छेले आफ्नो जिन्दगीको वव्रmरेखालाई गणितसँग जोडघटाउ गरिरहन्छ । त्यसलाई आफ्नो अस्तित्वसँग दाँजेर लेख्छ, जसरी ‘धोबीघाट मेलोडी’ निबन्धसङ्ग्रहमा लेखिएका छन् । नेपाली माटो, हावापानी, समाज र मूल्यमान्यतालाई आत्मसात् गर्दै ती निबन्धमा सरल, सौम्य, शालीन, उन्मुक्त, चित्ताकर्षक शैली कुँदिएका छन् ।
निबन्धकार मुकुन्दराज शर्मा हुनुहुन्छ । ‘धोबीघाट मेलोडी’ लेखक शर्माको दोस्रो निबन्धकृति हो । कामना न्युज पब्लिकेसन्सले २०८१ सालमा प्रकाशन गरेको सङ्ग्रहमा दुई दर्जन निबन्ध समावेश छन् । निबन्धक्रमलाई तीन तहमा विभाजन गरिएको छ । पहिलो खण्ड ‘क्षणिकीहरू’ अन्तर्गत आठ, दोस्रो खण्ड ‘अनुभूतिहरू’ अन्तर्गत आठ र तेस्रो ‘अन्तर्दृष्टिहरू’ अन्तर्गत आठ शीर्षकका निबन्ध छन् ।
सङ्ग्रहको न्वारनको प्रसङ्गमा निबन्धकार शर्माले लेखकीयमा भन्नुभएको छ, “धोबीघाटस्थित मेरो घरनजिकैका ढुङ्गेधाराहरूबाट मधुरो धुन निकाल्दै त्यसरी नै कञ्चन पानी निरन्तर बगिरहन्छ, जसरी कहिलेकाहीँ मेरो मन बग्छ । म त्यही पानीको सङ्गीत सुन्दै निदाउँछु र त्यसैसँगै ब्युँझिन्छु । जीवन भन्नु नै मन रैछ । मन पानी हो । मन हावा हो । बगिरह्यो भने सङ्लो हुन्छ, थुनियो भने मैलिन्छ । झिम्रुक नदीको भूमिमा जन्मिएको म आजपर्यन्त बगिरहन्छु ।” कल्पनाको डङ्गुरभन्दा आफूले भोगेका यथार्थको सुगन्ध बटुलेर पाठकलाई सुगन्धित कोसेलीका रूपमा सुम्पिनु लेखकको भावना प्रतिविम्बित हुन्छ, हरलेखनीमा ।
निबन्धकारले नेपाली शब्दभण्डारमा केही नयाँ शब्द प्रत्युत्पादन गर्नुभएको छ । त्यसको उदाहरण ‘क्षणिकी’ लाई लिन सकिन्छ । जीवन अस्तित्वबोध गराउने घटनाहरूको सङ्क्षिप्त विवरण नै क्षणिकी हो । निबन्ध लेखनको नयाँ आयाम क्षणिकी हो भन्ने निबन्धकारको जिकिर छ । “समयबाट सामयिकी, वर्षबाट वार्षिकी, मासबाट मासिकी, दिनबाट दैनिकी हुन्छ भने क्षणबाट क्षणिकी भनिदिए कसुर कत्रो होला ?” भन्नुहुन्छ । यसै गरी हेर्नेलाई दर्शक, सुन्नेलाई श्रोता । हेर्ने र सुन्ने दुवै भूमिका सँगै निर्वाह गर्नेको नाउँ ‘होर्ता’ भन्न सकिने दाबी छ ।
एउटै निबन्धले देश पनि बोल्दो रहेछ । माटो पनि छुँदो रहेछ । त्यही प्रमाण पेस गर्नुभएको छ निबन्धकारले ‘मेरो ठेगाना के हो ?’ शीर्षकमा । कृतिमा समेटिएको पहिलो निबन्ध हो । यो निबन्धले निबन्धकारको करिब छ दशक लामो जीवनवृत्त बोलेको छ । आमा, बुवा, म, जन्मथलो, झिम्रुक नदी, जखिरा ताल, तिलौराकोटका भग्नावशेष, बुद्धत्व, रामघाट, लक्ष्मणघाट आफ्नै भूमि हुन् । जीवनको मधुर सङ्गीत र राग मिलाउँदै सात समुद्र अमेरिका पुगेका निबन्धकारका बचेराहरू त्यतैको घरमा रमाइरहेका र आफू पनि रमाउन पुगेको प्रसङ्गले देशको वर्तमान परिवेश बोलेको छ । “संसारमा आयतनबिनाको विशालतम् वस्तु नै खुसी हो । हिजो र आजमा भिन्नता नहुने हो भने प्रत्येक दिन केवल हिजोको पुनरावृत्ति भइदिन्छ । धर्तीमा साँध लगाएर मात्रै ठेगान बन्छ ?” उहाँले अनुत्तरित प्रश्न तेस्र्याउनुभएको छ ।
दोस्रो निबन्ध ‘डस्टिङ डट कम’ मा सन्तान बिदेसिएपछि स्वदेशमा रहेका ढल्किँदो बैँसका दम्पतीको दिनचर्या उजागर गरिएको छ । तेस्रो ‘मेरो रेडियो फुट्यो’ मा लेखकको बाल्यकालदेखि वर्तमानसम्म आमसञ्चारको महत्तालाई उजागर गर्ने काम आत्मपरक शैलीमा मिठास भरिएको छ । निबन्ध विभिन्न प्रसङ्गका बयान त गरिएकै छन् । व्यङ्ग्यवाणको कुनै कैरन बाँकी राखिएको छैन । काल्पनिक पात्रभन्दा आफ्नासामु उभिएका, आफूलाई उभ्याउने अनि उभ्याइएका पात्रहरूसँगको प्रसङ्गबाट विषयवस्तु केलाउने काम गरिएको छ । ‘भाषण गर्न जानु छ’ मा “भाषण दशकौँअघि पनि गरिएकै हुन् । भाषण गर्नेको कति उन्नति भयो ? अनि भाषण सुन्नेको कति उन्नति भयो ? भाषणैभाषणले देश भाषणबाजहरूको देश भइसक्यो” ले मर्ममै प्रहार गरे झैँ लाग्छ । आफ्ना अनुभूतिहरूलाई अनेकन कोणबाट कलात्मक ढङ्गमा पस्किनु निबन्धकारको निजत्व हो । ‘एउटा प्रेमपत्र’ मा कोर्नुभएको छ, “म प्रेमविह्वलताको त्यो सीमारेखापारि पुगेको छैन तर तिम्रो समीपमा नहुँदा धेरै थोक भइरहन्छ । घामले शीत घोप्ट्याइदिन्छ, जूनले जिउ पोल्छ, ताराहरू मालश्रीको धुनमा नृत्य गरेको देख्छु । यो कुनै पागलपन होइन, तिम्रो प्रेमको ‘साइड इफेक्ट’ मात्रै हो । ... साथीहरूले तिम्रो नाउँ इन्दिरा राख्नु भनेर सुनाएका थिए । तिमीले मानिनौ । नत्र हामी मुकुन्द–इन्दिरा हुने थियौँ ।”
बुढ्यौली लाग्दै गर्दा बाल्य दावालीसितको सामीप्यताको झझल्को ‘आइज न यार, बात मारौँ’ शीर्षकमा उल्लेख पाइन्छ । “आज फ्याट्ट फेसबुकमा तेरो एउटा तस्बिर देखेँ । फेसबुकको आयुभन्दा दोब्बर, तेब्बर या अझ बढी पुरानो । आँखा अड्याएर हेरिरहेँ । समय दोब्रिँदै दोब्रिँदै पछाडि पुग्यो । स्मृतिका पनि नुनिला आँसु हुँदा रहेछन् । त्यो मयल परे जस्तो श्यामश्वेत तस्बिरमा तैँले लगाएको कमिज चाहिँ मेरो हो नि ? तँलाई सम्झना छ ? एक दिन मोजाको भकुन्डो खेल्दै गर्दा तैँले भनेको थिइस्– तेरा लुगा किन यति राम्रा हुन्छन् ?” वर्तमानमा बाँचिरहेका बुढ्यौली पुस्ता सामाजिक सञ्जालमा आत्मालाप गर्न पुगेका छन् । यस निबन्धले सामाजिक सद्भाव क्रमशः पातलिँदै गएको बुझाउन खोजेको छ ।
मानिसमा अरूलाई सेवक बनाउने विचित्रको गुणलाई
‘भाग्यमानी रैछस्, भुक्दै गरेस्’ शीर्षकमा कुकुरको चर्चा गरिएको छ । अर्को शीर्षक ‘छ बाटा छोडेँ’ शीर्षकमा आममानिसको चेतनामाथि व्यङ्ग्यवाण कसिएको छ । “वचनको पक्का । जमदारको नाति, सुबेदारको छोरा । म पनि पल्टनको लाहुरे भइनँ त के भो ? रगत रगतमा छ इमान, जमान । बुझिस् ? आजबाट चटक्कै छोडेँ भनेपछि छोडेँ– ‘च’ बाट चुरोट । ‘र’ बाट रक्सी ।” यसमा नेपालीको बानी पर्गेलिएको छ । गुरुका हातमा रहेको शिल्पलाई ‘कलम चोर’ शीर्षकमा उल्लेख गरिएको छ । “उहाँका ती ऐँसेलुका दाना जस्ता बाटुला अक्षर, कुमालेको चक्रमा घुमाएर बुट्टा काटिए झैँ लाग्ने चिटिक्कका बुट्टेदार अक्षर देख्दा मलाई पनि त्यस्तै अक्षरको लोभ पलाउँथ्यो मनभरि । त्यति राम्रा अक्षर खिप्न भएभरको श्रेय त्यही कलमलाई जान्थ्यो ।”
एउटा शीर्षक पढिसकिन्जेल अर्को शीर्षकले मनलाई तान्छ, कि त्यसमा झनै कत्ति विषयवस्तु उनिएका छन् । कौतुकमय तुल्याउँछ । त्यसले दिने दार्शनिकतालाई झ्वाट्टै ब्युँताउँदैन, केही घोत्लिन बाध्य पार्छ । निबन्ध पनि अनेकन शिल्पका छन् । कतै नियात्रा जस्तो, कतै गाँठो परेको गाँठो जस्तो, कतै धार्मिक तुष्टि मेटे जस्तो, कतै मनोवाद, मनोसंवादले पाठकलाई तिरिमिरी झ्याइँ पार्छ । जस्तो कि ‘हरहर महादेव’, ‘पात्रो बाजे’ आदि निबन्ध पर्छन् ।
टुङ्ग्याउनीमा ‘नाता चुँडिएको पुस्ता’ चीन भ्रमणसँग सम्बन्धित छ । १२ वर्ष जतिका दुई बालिकका घरमा आतिथ्य ग्रहण गर्नुपर्दाको प्रसङ्ग छ । चिनियाँ र नेपालीबिच भाषाको बारले छेक्छ । आफूले बोलेको भाषा बुझ्न पाइ तु (गुगल जस्तै) इन्जिन सर्च गरेर हेर्ने अनि के बोलेको रहेछ भनेर हातको मोबाइलमा सर्च गरेर हेरेर बुझ्ने कोसिस गर्छन् । गुगल, च्याट जिपिटी, आर्टिफिसियल इन्टेलिजेन्स आदिका भोक्तासँग वर्तमान बुढ्यौली पुस्तासँग नाता चुँडिँदै गएको छ भनेर निबन्धकारले पाठकलाई पुनः स्मरण गराउनुभएको छ ।