प्रेमराज सिम्खडा
कालीकोट मङ्सिर १४ गते। गाउँको बिचमा रहेको देवदारको रूख सय वर्ष पहिलादेखि ठडिएको देखिन्छ। जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय अगाडि उत्तरतर्फ क्षेत्रबहादुर कठायतको घरकै आडमा रूख एक सय ६० वर्षदेखि उस्तै छ।
वडा न १ का वडाध्यक्ष कर्णबहादुर कठायतले आफ्नो बाजे बालक हुँदादेखि यो रूख यही प्रकृतिको रहेको बताउनुभयो। ‘म अहिले ५८ वर्षको भएँ। आफू जान्ने हुने समय पनि यस्तै थियो। मेरो बाजेले पनि यस्तै देख्नुभयो। बुवा ५४ वर्षमा बित्नु भयो। मेरै तीन पुस्ता भयो। यो तीन पुस्तासम्म यो रूख यस्तै सुकेको अवस्थामा छ।’
सरदर एक सय ६० वर्षदेखि रुख यही अवस्थामा रहेको अध्यक्ष कठायतले सुनाउनुभयो। देवदारलाई एक हजार वर्ष खडा अर्थात् ठाडो हुन्छ भने एक हजार वर्षसम्म ढलेर पनि नसड्ने हुन्छ भनेर भन्ने गरेका छन्।
तीन पुस्ता पहिला जस्तै वडा अध्यक्षका बाजेले समेत यो रूखलाई हरियो देख्नु भएन। ‘अहिले गाउँमा बुढापाका व्यक्ति छन्। कसैले पनि हरियो देखेनन्। रूखको माथि हाँगा अहिले नै झर्ला जस्तो देखिन्छ तर बाक्लो हिमपात हुँदा र ठुलो हावा चल्दा समेत हाँगा झरिरहेको छैन’, उहाँले भन्नुभयो।