अमरराज नहर्की
तनहुँ, मङ्सिर १३ गते । पर्यटक भुलाउन नेपालमै पहिलो पटक तनहुँमा निर्माण भइरहेको चार लेनको पुललाई सौन्दर्यकरण गरिने भएको छ । मुग्लिन–पोखरा सडक बिस्तार आयोजना अन्तर्गत पुल निर्माणको काम पनि सँगै अघि बढाइएको हो ।
पर्यटकलाई आकर्षण गर्ने हिसाबले पुल कलात्मक आर्क डिजाइनको निर्माण गरिने भएको हो । यातायात आवागमनको प्रयोगको लागि मात्रै नभई पर्यटक पनि आकर्षित गर्नपर्छ भनेर कलात्मक डिजाइन निर्माण गर्न लागिएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार सिग्नेचर पुल हेर्दा आकर्षक देखिन्छ । पैदल यात्रीका लागि पुलको दायाँ र बायाँ फुटपाथ हुन्छ । सोही स्थानबाट दृश्यावलोकन गर्न, फोटो खिच्न र नदी वरपरको वातावरण नियाल्न सकिन्छ । माथिबाट घुमाएर ल्याइने भएकाले एक प्रकारको आर्क पुलका रूपमा सिग्नेचरलाई बुझिन्छ ।
कम सङ्ख्यामा पिलरको प्रयोग हुने, बत्ती रहने, दायाँबायाँ फराकिला पैदल यात्रुका लागि स्थान छाडिनेछ । बढ्दो सहरीकरणका क्षेत्रमा ट्राफिक चाप बढी हुने हुँदा ४ लेनको सिग्नेचर पुल बनाउन थालिएको हो । पुलको चौडाइ करिब १९ मिटरको हुनेछ ।
एक लेन सडकको चौडाइ साढे ३ मिटरको हुन्छ । दायाँ र बायाँबाट आउने गाडीलाई दुर्घटनाबाट बचाउन एक मिटरको डिभाइडर राखिने छ । पैदल यात्रीलाई दायाँबायाँ दुई-दुई मिटरको फुटपाथ छोडिनेछ । पुल आकर्षक देखाउन डन्डीमा कलात्मक डिजाइन दिइनेछ । अन्तर्राष्ट्रियस्तरमा यस्ता पुल पर्यटकीय आकर्षणको रूपमा प्रयोग गरिने भएकाले नेपालमा पनि बनाउन लागिएको बताइएको छ ।
यस पुलको काम झन्डै आधा पुरा भएको छ । निर्धारित समयमा नै पुरा गर्न पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका-४ को दमौली बजार र ५ को चापाघाट जोड्ने मादी नदीमा बन्दै गरेको पुलको काम धमाधम भइरहेको हो । यो पृथ्वीराज मार्गको सबैभन्दा लामो पुल पनि हो ।
तीन सय १५ मिटर लामो पुलको ४८ प्रतिशत निर्माण पूरा भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले जनाएको छ । निर्धारित समयमा नै पुरा गर्न धमाधम काम भइरहेको र हालसम्म आधा काम सकिएको ठेकेदार कम्पनीका साइड इन्चार्ज दिनेश श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठ अनुसार निर्माणाधीन पुलको हाल पिल्लर निर्माण काम भइरहेको छ ।
हाल पानीमुनि गरिने पाइलिङ, पाइल क्याप र पिलरको काम पुरा गरी पानीमाथि गरिने ‘सुपर स्टक्चर’ काम भइरहेका छन् । हाल रहेको दुइलेनको पुलबाट करिब ५० मिटर उत्तर तर्फ नयाँ पुल निर्माण भइरहेको र पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेका अनुसार नेपालमै पहिलो पटक चार लेनको पुल निर्माण भइरहेको हो र तीन वर्ष भित्र निर्माण पुरा गर्ने लक्ष्य रहेको छ । निर्धारित समयमा पुरा गर्न तदारुकताका साथ काम भइरहेको छ । हाल दुई लेनको पुल तीन सय ७० मिटर छ । अब बन्ने पुल भने चार लेनको तीन सय १८ मिटरको हुनेछ।