• २३ पुस २०८१, मङ्गलबार

उपमहानगर घोषणाको पर्खाइमा वीरेन्द्रनगर

blog

वीरेन्द्रनगर उपत्यका ।

छिन्चु समाचारदाता

सुर्खेत, मङ्सिर १३ गते । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउने योजनाले अझै पूर्णता पाउन सकिरहेको छैन । आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेटमा नै उपमहानगरपालिका घोषणा गरिने कुरा उल्लेख भए पनि अहिलेसम्म घोषणा हुन नसकेको हो । २०७८ असारमा बसेको नवौँ नगर सभाले उपमहानगरपालिका बनाउने एजेन्डा पारित गरेको थियो, जतिबेला अहिलेका नगरप्रमुख मोहनमाया ढकाल उपप्रमुख हुनुहुन्थ्यो । 

ढकालले नगरप्रमुखका लागि चुनाव लड्दै गरे पनि उपमहानगर बनाइने विषयलाई आफ्नो चुनावी एजेन्डा बनाउनुभएको थियो । यद्यपि उपमहानगर बनाउने चर्चा सुरु भएको तीन वर्ष बितिसक्दा पनि वीरेन्द्रनगर उपमहानगरपालिका घोषणा हुन सकेको छैन । देशका सात वटा प्रदेशमध्ये एउटा पनि उपमहानगर नभएको प्रदेश हो, कर्णाली । उपमहानगर नै नभएपछि महानगर हुने त कुरै भएन । प्रदेशमा २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका गरी ७९ वटा स्थानीय तह छन् । 

वीरेन्द्रनगर नगरपालिकाका अनुसार २०७८ मै उपमहानगर बनाउन सङ्घीय सरकारलाई सिफारिस गरिएको थियो तर सङ्घीय सरकारले त्यसलाई रोक्यो । अझै वीरेन्द्रनगर उपमहानगर बन्न कति समय लाग्ने हो भनी स्थानीयले चिन्ता व्यक्त गरेका छन् । कतिपयले वीरेन्द्रनगरलाई उपमहानगर बनाउन मापदण्ड नपुगेको बताइरहेका छन् । 

उपमहानगरपालिकाका लागि के हो मापदण्ड ?

स्थानीय सरकार सञ्चालन ऐनमा नगरपालिकालाई उपमहानगरपालिका बनाउन विभिन्न १५ वटा मापदण्ड पूरा हुनुपर्ने कुरा उल्लेख छ । वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउन स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख गरिएका १५ वटा मापदण्डमध्ये धेरैजसो मापदण्ड पुग्दैनन् । अहिलेसम्म राजधानीमा न सहज विद्युत्को सुविधा छ न खानेपानीको । सडक पूर्वाधारको विकासका हिसाबले पनि वीरेन्द्रनगर कमजोर नै छ । मुख्य बजारबाहेक वरपर सडक पूर्वाधारको अवस्था कमजोर छ तर वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल भने उपमहानगरपालिका बन्नका लागि अधिकांश मापदण्ड पूरा भएको दाबी गर्नुहुन्छ । “उपमहानगर हुनका लागि आवश्यक संरचना तयार भइसकेको छ,” ढकाल भन्नुहुन्छ, “बजेट कार्यान्वयनका हिसाबले पनि वीरेन्द्रनगर अहिले देशको पाचौँ तहमा आउँछ ।”

वीरेन्द्रनगरको जनसङ्ख्या करिब पाँच लाख रहेको ढकालले बताउनुभयो । यद्यपि स्थायी बासिन्दाको सङ्ख्या मापदण्डमा उल्लेख भए अनुसार छैन । ढकालले वीरेन्द्रनगरभन्दा कम जनसङ्ख्या भएका स्थानीय तह सिमरालगायतलाई पनि उपमहानगर बनाइएको उल्लेख गर्दै अहिले वीरेन्द्रनगरको स्थायी बासिन्दाको जनसङ्ख्या एक लाख ५४ हजार रहेको बताउनुभयो तर केही जनसङ्ख्या छुटेको अनुमान गरिएको उहाँको भनाइ छ । 

जस्तो २०७८ को जनगणनामा वीरेन्द्रनगरको घरधुरी सङ्ख्या २९ हजार मात्रै छ तर उपमहानगरपालिका बनाउनका लागि अध्ययनका क्रममा जिपिएसबाट लिएको तथ्याङ्क हेर्दा घरधुरी सङ्ख्या ५१ हजार रहेको छ । अहिले सबै विषयमा सर्वेक्षणको काम भइरहेको नगरप्रमुख ढकालले बताउनुभयो । “यहाँ अस्थायी बसोबास गर्नेको सङ्ख्या पनि प्रशस्त छ, त्यो भएकाले उपमहानगर हुनका लागि पर्याप्त जनसङ्ख्या छ भन्ने हाम्रो दाबी हो,” उहाँ भन्नुहुन्छ  । 

खानेपानी तथा सरसफाइको हिसाबले कस्तो छ त वीरेन्द्रनगर भन्ने विषयमा पनि अध्ययनको काम भइरहेको उहाँले बताउनुभयो । साथै आन्तरिक राजस्वमा नगरपालिकाले तोकिएको भन्दा बढी प्रक्षेपण गरेको छ । नगरपालिकाले अहिले ४३ करोडको राजस्व सङ्कलन हुने प्रक्षेपण गरेको नगरप्रमुख ढकालको भनाइ छ । स्वास्थ्य, शिक्षा र संरचनाका हिसाबले पनि मापदण्ड पूरा भएको उहाँको दाबी छ । प्रदेशको गौरवको आयोजना रङ्गशाला वीरेन्द्रनगरमा बनिसकेको अवस्था छ भने कभर्ड हल पनि छ । यस्तै सबैभन्दा ठुलो प्रादेशिक अस्पताल, मध्यपश्चिम विश्वविद्यालय, शिक्षा क्याम्पस, विमानस्थल पनि यहाँ छन् ।