• ७ मंसिर २०८१, शुक्रबार

उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह

blog

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकशमान सिंह भृकुटीमण्डपमा सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, कात्तिक २९ गते । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकशमान सिंहले उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा बिहीबारबाट  सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ गर्दै उहाँले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको हो ।

‘‘हामीले जोड दिनुपर्ने क्षेत्र भनेको म्यानुफ्याक्चरिङ हो । नेपालको कुल गार्हस्थ उत्पादनमा ह्रास भइरहेको छ । यसलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्रमा हामीहरुले जोड दिनुपर्ने हुन्छ’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।


अहिले क्लिन इनर्जीको आवश्यक्ता बढ्दै गएको भन्दै उहाँले उत्पादनको क्षेत्रलाई पुग्ने विद्युत उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनुपर्नेमा जोड दिनुभयो उपप्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसमा नेपालमै बनेको सामग्री प्रयोग गर्न सके अर्थतन्त्रमा राम्रो परिणाम दिने पनि उहाँले बताउनुभयो ।

नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन अहिलेको सरकारले काम गरिररहेको भन्दै उपप्रधानमन्त्री सिंहले उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्श लगायतका नीजि क्षेत्रका संस्थाहरुले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको पनि बताउनुभयो ।


‘‘नीजि क्षेत्रले उठाएका कुरालाई सरकारले ध्यान दिएको छ । यसको सकारात्मक परिणाम केही समयपछि सबैले देख्नेनैछन् भन्न चाहन्छु,’’ उपप्रधानमन्त्री सिंहले भन्नुुभयो, ‘‘तपाईंहरुले एक्जिबिसन हलको कुरा गर्नुभयो । आर्थिक गतिविधि बढ्दै गएपछि एक्जिबिसन गर्ने हल त चाहियो नी । आवश्यक्ता अनुसार आधुनिक एक्जिबिसन हल बनाउन के गर्दा सकिन्छ, तपाईंहरुसँग सल्लाह गरेर अगाडि बढाउँछौं ।’’

आजबाट सुरुभएको ‘फिन इलेक्ट्रो टेक २०२४’ मङ्सिर २ गतेसम्म चल्नेछ । प्रदर्शनीमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवम् सूचना प्रविधि तथा विद्युतीय एवम् वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुको साथै उद्योगमा भएका नवीनतम उपलब्धिहरूबारे सूचना आदान–प्रदान गरिने छ । प्रदर्शनीमा २८ वटा स्टल र हल बाहिर पनि २६ स्टल रहनेछन् ।