• ७ मंसिर २०८१, शुक्रबार

उपनिर्वाचन : गुल्मीमा वडा अध्यक्ष पदमा कांग्रेस–एमालेबिच प्रतिस्पर्धा

blog

नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ र नेकपा (एमाले) उम्मेदवार दलबहादुर थापा । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, कात्तिक २९ गते ।
मुसिकोट वडा नम्बर १ का वडा अध्यक्ष मोहन घिमिरेको निधन भएपश्चात् रिक्त रहेको पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदै छ । सो उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच प्रतिस्पर्धा हुने भएको छ  ।

कांग्रेसले ३५ वर्षीय आनन्द श्रेष्ठलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ भने एमालेले ५५ वर्षीय दलबहादुर थापालाई उम्मेदवार बनाएको एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले जानकारी दिनुभयो । 

श्रेष्ठ पार्टीको भ्रातृ संस्था तरुणदलमा आबद्ध रहनुका साथै विभिन्न सामाजिक सङ्घसंस्थाहरुमा आबद्ध रही सामाजिक कार्य गर्दै आएको कांग्रेसले जनाएको छ ।

पछिल्लो समयमा युवाहरुको माग बढ्दो रहेकाले पनि युवालाई नै उम्मेदवार बनाएको कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो । यस अगाडि पनि कांग्रेसले उक्त वडा जितेको स्मरण गर्दै लोकप्रिय युवा उम्मेदवार भएकाले निर्वाचन जित्नेमा आफू ढुक्क रहेको उहाँको दाबी छ ।

यसैगरी, २०७४ सालमा वडा सदस्य पदमा निर्वाचित भइसक्नुभएका थापा अनुभवी र पाको भएकाले उहाँलाई नै अगाडि सारेको नगरकमिटी अध्यक्ष काफ्लेले बताउनुभयो । उहाँ नेकपा एमाले मुसिकोट नगर कमिटी सचिवालय सदस्य हुनुहुन्छ ।

माओवादीबाट दुर्गा विक उम्मेदवार
नेकपा (माओवादी केन्द्र)ले पनि पार्टीको तर्फबाट दुर्गाबहादुर विकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीका जिल्ला सचिव अशोक थापाका अनुसार त्यस क्षेत्रका पाका र राजनीतिमा खारिएका विकलाई पार्टीका तर्फबाट उम्मेदवार बनाइएको बताउनुभयो । त्यस क्षेत्रमा सबैको लोकप्रिय भएकाले उहाँलाई नै उम्मेदवार बनाइएको उहाँको भनाइ छ । पहिले हुकुम पाठकलाई उम्मेदवार बनाउने तयारी भए पनि पछि विकलाई पार्टीले टुङ्गो लगाएको उहाँले बताउनुभयो ।

यस्तै एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवार छनोटका लागि छलफलकै क्रममा रहेको जनाएका छन् ।

मुसिकोट नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित बहुमत वडामा एमालेबाट निर्वाचित जनप्रनिधि छन् । हाल उपनिर्वाचन हुन लागेको वडानम्बर एकमा  २०७४ सालमा पनि नेपाली काँग्रेस विजयी भएको थियो । उक्त वडामा २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचन अनुसार तीन हजार ८०८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ  ।